रिहाइपछि पूर्वप्रधानमन्त्री ओलीको प्रतिक्रिया : ‘ पूर्वाग्रह र प्रतिशोध साँधेर नियन्त्रणमा राखे’

काठमाडौं, २६ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोध साँधेर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाउनुभएको छ ।

प्रमाणको अभावमा सोमबार हिरासतमुक्त भएलगत्तै एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले आफूमाथि लगाइएको फौजदारी अभियोगमा मुद्दा चलाउने कुनै आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताउनुभएको हो ।

आफ्नो रिहाइका लागि परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले न्याय र कानुनको पक्षमा उभिने सबैप्रति आभार प्रकट गर्नुभएको छ । “मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइ, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी, राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु,” ओलीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी दमनबाट घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण अध्यक्ष ओली तत्काल घर नफर्कने हुनुभएको छ । उहाँले अझै केही दिन त्रिवि शिक्षण अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउनुभएको छ ।

यसैगरी, उहाँले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र आफ्नो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि विशेष कृतज्ञता ज्ञापन गर्नुभएको छ । कठिन घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टी पङ्क्ति तथा सम्पूर्ण शुभचिन्तकहरूलाई उहाँले धन्यवाद दिनुभएको छ ।