सिरहामा १९ किलो गाँजासहित एक युवक पक्राउ, नगद र गरगहनासमेत बरामद
सिरहा, २९ चैत्र । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । भारततर्फ गाँजा तस्करी गर्दै गरेको अवस्थामा धनगढीमाई नगरपालिका–९ का राजेश दास पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख (एसपी) सुमनजङ्ग थापाका अनुसार, मोटरसाइकल र अटोरिक्सामा राखेर गाँजा भारततर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान उनलाई पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा सुखीपुर क्षेत्रमा जाँच गर्ने क्रममा उनको साथबाट १९ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । यसका साथै, निजको साथबाट चाँदीको ब्रासलेट, नगद २५ हजार रुपैयाँ र एक थान मोबाइल सेटसमेत बरामद भएको छ ।
पक्राउ परेका दासमाथि लागुऔषध ओसारपसार कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।