न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका दोषी बाबु थापा पक्राउ, साथबाट दुई पेस्तोल बरामद
सर्लाही, २९ असाेज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका बाबु थापा पक्राउ परेका छन्। सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय थापालाई प्रहरीले बुधबार राति आफ्नै घरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार थापालाई सर्लाहीस्थित घरबाटै नियन्त्रणमा लिइएको हो। जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका उनी विभिन्न स्थानमा लुकेर बसेपछि घर पुगेका थिए।
इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
डीएसपी राईका अनुसार थापाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिनेछ।
न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले थापालाई जन्मकैदको सजाय सुनाएको थियो। २०६९ जेठ १८ गते बमको हत्या भएको थियो। थापा यसअघि २०७१ सालमा पक्राउ परेका थिए।
