चाडपर्व लक्षित सुरक्षा कडा, चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको चेकजाँच

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, मुख्य सडक र बसपार्कमा चेकजाँच तीव्र लागूऔषध तथा विस्फोटक पदार्थ नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन सवारी दुर्घटना, बढी भाडा असुली र आपराधिक गतिविधि रोक्न निगरानी बढाइयो

नारायणगढ (चितवन), २९ असोज । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका मुख्य सडक, बसपार्क र भित्री क्षेत्रमापारेको छ।

लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँचलाई तीव्रता दिएको हो। केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने र स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा चेकजाँच कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार लागूऔषध तथा विस्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकजाँच गरिएको हो। यसका लागि प्रहरीले तालिमप्राप्त कुकुर (केनाइन) टोलीसमेत परिचालन गरेको छ।

पौडेलले विस्फोटक पदार्थ र लागूऔषधको ओसारपसार नियन्त्रण गर्नुका साथै आपराधिक गतिविधिमा संलग्नलाई निरुत्साहित गर्ने र नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाका अनुसार चाडपर्वका बेला गन्तव्यमा छिटो पुग्ने हतारमा चालकले तीव्र गतिमा सवारी चलाउने जोखिमलाई ध्यानमा राख्दै एकीकृत रूपमा चेकजाँच भइरहेको छ। लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको छ।

तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोगसमेत गरिएको थापाले बताउनुभयो। उहाँका अनुसार केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक जाँच भइरहेको छ।

चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले चालक तथा सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई पनि सजग रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *