सरकारी सवारीसाधन दुरुपयोग र अभद्र व्यवहारको आरोपमा गणेश सापकोटा पक्राउ
बनेपा, २७ असोज । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पनौती नगरपालिका–३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा रहेका छन्। उनी असोज २४ गते शनिबार सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको थियो।
जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर उनलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।
