सरकारले वास्तविक सुकुम्बासीको पहिचान नै नगरी हतारमा डोजर चलायो: महामन्त्री पौडेल
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले वास्तविक सुकुम्बासीको पहिचान र अध्ययन नै नगरी बल प्रयोग गरेको आरोप लगाए। सुकुम्बासी बस्ती हटाउनुहुँदैन भन्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उनले विकल्प र अध्ययनविनाको सरकारी कदम भने गलत भएको बताए।
“हाम्रो प्रस्ट कुरा हटाउनुहुँदैन भन्ने होइन। त्यहाँ सबै वास्तविक सुकुम्बासी थिए भन्ने पनि हाम्रो दाबी होइन,” पौडेलले भने, “तर, वास्तविक सुकुम्बासी को हुन् भनेर नछुट्याई, सबैलाई नक्कली हुन् भनेर जुन खालको व्यवहार गरियो, त्यो गलत छ। त्यहाँ राम्रोसँग जाँचबुझ र अध्ययन नगरी ‘म राज्य हुँ, मैले जे गरे पनि हुन्छ’ भन्ने शैलीमा सरकार प्रस्तुत भयो।”
वास्तविक सुकुम्बासीलाई उचित विकल्प दिएर मात्र बस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको हतारो र बल प्रयोगप्रति गम्भीर आपत्ति जनाएका हुन्।