मुस्ताङका लेकहरूमा यार्सागुम्बा सङ्कलन सुरु, बाहिरी जिल्लाका नागरिकलाई पनि अनुमति
मुस्ताङ, १४ वैशाख । मुस्ताङका उच्च हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। जिल्लाको तल्लो क्षेत्रअन्तर्गत थासाङ गाउँपालिकाका कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिको मातहतमा पर्ने लेकहरूमा यार्सा सङ्कलन खुला गरिएको हो।
समुद्री सतहबाट ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने यो जडीबुटी मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म सङ्कलन गरिन्छ। यार्सा टिप्न स्थानीयवासीका साथै बाहिरी जिल्लाका नागरिकहरू पनि उल्लेख्य सङ्ख्यामा लेक पुग्ने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीका अनुसार, एक्यापअन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) हरूले निश्चित शुल्क लिएर यार्सा सङ्कलनको अनुमति दिने गरेका छन्। सङ्कलनका क्रममा हुनसक्ने जोखिम, वन डढेलो, चोरी–सिकारी र आपराधिक घटना रोकथामका लागि कडा सर्त र मापदण्ड निर्धारण गरी अनुमति दिइन्छ।
थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारणलाई यार्सा सङ्कलन पुर्जी वितरण सुरु गरिसकेको छ। समितिका अध्यक्ष जीवन थकालीका अनुसार, कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरे लगायतका लेकमा यार्सा टिप्न खुला गरेको छ। यसका लागि स्थानीयलाई ३ हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई ७ हजार रुपैयाँ शुल्क तोकिएको छ। हालसम्म ९ स्थानीयसहित ८७ जनाले अनुमति लिइसकेका छन्।
यस्तै, थासाङको बतासे लेकमा पनि सङ्कलन खुला गरिएको छ, जहाँ ४५ जनाले अनुमति पाएका छन्। थासाङकै टुकुचे समितिले स्थानीयलाई १ हजार र बाहिरी जिल्लाका व्यक्तिलाई ३ हजार रुपैयाँ शुल्क तोकेको छ भने कुञ्जो लेकमा पनि यार्सा सङ्कलन भइरहेको छ।
घरपझोङ गाउँपालिकास्थित जोमसोम संरक्षण व्यवस्थापन समितिले भने आगामी वैशाख २५ गतेदेखि यार्सा सङ्कलनको अनुमति दिने तयारी गरेको छ। समितिका सचिव पवन गुरुङका अनुसार, जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई ४ हजार र त्यहाँ अस्थायी रूपमा घरखेत कमाएर बसेका व्यक्तिलाई ६ हजार रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी, वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि सङ्कलन खुला गर्दैछ। समितिका सचिव लाक्पाटसी गुरुङका अनुसार नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरूमा अनुमति दिइनेछ।
यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले यसलाई जिल्लाबाहिर निकासी गर्नुपरेमा थप ३ हजार १०० रुपैयाँ राजस्व बुझाउनुपर्ने कानुनी व्यवस्था छ।