तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ गम्भीरसहित २७ जना घाइते
काठमाडौँ, बैशाख ११ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकमै पल्टिँदा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (प्रनाउ) श्रवणकुमार विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूको सनाखत हुन अझै बाँकी रहेको छ ।
दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य १४ जना मध्यम र पाँच जना सामान्य घाइते भएका छन् ।
दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी शुक्लागण्डकी–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपश्चात् गम्भीर र मध्यम घाइतेहरूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले जानकारी दिनुभयो ।
घाइतेमध्ये तीन जनाको जिपी कोइराला उपचार केन्द्रमै उपचार भइरहेको छ भने एक जना सामान्य घाइते उपचारपछि घर फर्किएका छन् । प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।