हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण: शव पोस्टमार्टमका लागि काठमाडौँ ल्याइयो, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु
सिन्धुली, ११ वैशाख । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत्यु भएका २३ वर्षीय श्रीकृष्ण विकको शव पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ । सिन्धुली अस्पतालमा राखिएको शवलाई मृत्युको वास्तविक कारण पत्ता लगाउन त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज पठाइएको हो ।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका विकलाई बलात्कारको आरोपमा वैशाख ३ गते ललितपुरबाट पक्राउ गरी खुर्कोट पुर्याइएको थियो । उनको वैशाख ७ गते हिरासतभित्रै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार विकले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेका थिए । उपचारका लागि स्थानीय सुनकोशी अस्पताल हुँदै सिन्धुली अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
परिवारको आशंका र आन्दोलन
मृतककी आमा विन्दामाया विकले भने छोराको मृत्युलाई ‘शङ्कास्पद’ भन्दै प्रहरीको कुटाइ वा चरम लापरवाहीका कारण ज्यान गएको दाबी गर्नुभएको छ । घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिएका थिए ।
धर्नामा सहभागी सांसदहरू आशिष गजुरेल, धनेन्द्र कार्की, खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक र खिमा विश्वकर्माले घटनाको वस्तुनिष्ठ छानबिन नभएसम्म शव नबुझ्ने अडान राख्नुभएको थियो ।
घटनालाई लिएर चौतर्फी दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिमा एसपी रवीन्द्रनाथ पौडेल, इन्स्पेक्टर इन्द्रजित मगर, इन्स्पेक्टर प्रेम रेग्मी र सई रामेश्वर सापकोटा सदस्य हुनुहुन्छ ।
यसअघि सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा गठित सात सदस्यीय स्थानीय समितिलाई पीडित पक्षले अविश्वास गरेपछि डीआईजीको नेतृत्वमा नयाँ समिति बनाइएको हो । उच्चस्तरीय समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
उच्चस्तरीय छानबिन समिति गठन भएसँगै पीडित पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरी शव परीक्षणका लागि सहमति जनाएका हुन् ।