जग्गाको टुङ्गो नलाग्दा बेनीमा ‘शान्ति पार्क’ निर्माण योजना अन्योलमा

काठमाडौँ, बैशाख ११ । म्याग्दीको सदरमुकाम बेनीमा गौरवको आयोजनाका रूपमा अघि सारिएको ‘शान्ति पार्क’ निर्माण योजना जग्गा छनोटको विवादका कारण अन्योलमा परेको छ । नगरपालिकाले तीन वर्षअघि प्राथमिकताका साथ अघि सारेको यस योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि निर्माणस्थलको निश्चितता नहुँदा कार्यान्वयन प्रक्रिया ठप्प भएको हो ।

म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा जाने पर्यटकलाई आकर्षित गर्ने र स्थानीयका लागि मनोरञ्जन स्थल बनाउने उद्देश्यका साथ करिब रु १० करोडको लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको थियो । तर, बजेट र योजना सुनिश्चित हुँदाहुँदै पनि काम सुरु हुन नसक्दा बजारवासीमा निराशा छाएको छ ।

योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले २५ लाख विनियोजन गरेको छ भने गत आर्थिक वर्षमा नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०-२० लाख बजेट छुट्याएका थिए । बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेश श्रेष्ठका अनुसार, वीरेन्द्रचोकस्थित रेडक्रस र वन डिभिजनको नर्सरी क्षेत्रमा पार्क निर्माण गर्ने प्रस्ताव गरिएको थियो । तर, उक्त क्षेत्र बराहपाखो सामुदायिक वनभित्र पर्ने र वन क्षेत्रमा कार्य गर्न कानुनी जोखिम रहेकाले कार्यान्वयनमा समस्या देखिएको उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रस्तावित ठाउँमा सम्भव नभए महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भइसकेका पूर्वाधारलाई थप व्यवस्थित गरी पार्क सञ्चालन गर्नुपर्ने विकल्प अघि सार्नुभएको छ । महारानी थानमा हाल जग्गा व्यवस्थापन, पोखरी र चौतारी निर्माण लगायतका काम सम्पन्न भइसकेका छन् ।

वि.सं. २०६० चैत ७ गतेको बेनी भिडन्तको स्मृतिका सामग्रीहरू समेत राखेर बालबालिका तथा ज्येष्ठ नागरिकका लागि अनुकूल हुने गरी यो पार्क निर्माण गर्ने योजना बनाइएको थियो । यता, बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयबीच उचित समन्वय भएमा वन समूहले अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँले योजना कार्यान्वयनका लागि नगरपालिकाको दृढ इच्छाशक्ति र सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो ।

नगर प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको विवाद सुल्झाउन आफूहरू लागिपरेको बताउनुभयो । उहाँका अनुसार, बेनी बजार क्षेत्रका वडा नं ७ र ८ का बासिन्दासँग आमभेला गरी सल्लाह र सुझावका आधारमा निर्माणस्थलको अन्तिम टुङ्गो लगाइने तयारी भइरहेको छ ।