लगातार तीन दिन बिदा भए पनि आज सरकारी अस्पतालको ओपिडी सेवा खुला रहने
काठमाडौँ, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मंगलबार देशभरका सबै सरकारी अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सार्वजनिक बिदाका दिन पनि बिरामीको चाप र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो निर्णय लिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आज वैशाख १८ गते (मजदुर दिवस), भोलि १९ गते (शनिबार) र पर्सि २० गते (बुद्ध जयन्ती) को सार्वजनिक बिदा परेको छ । लगातार तीन दिन सरकारी बिदा भएका कारण अस्पतालका सेवाहरू ठप्प हुँदा सेवाग्राहीलाई ठूलो असुविधा हुने र बिरामीको स्वास्थ्यमा जोखिम पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ओपिडी सेवा सञ्चालन गर्न भनिएको हो ।
“लामो समय बिदा हुँदा ओपिडी सेवा प्रभावित हुने र बिरामीहरूले सास्ती खेप्नुपर्ने अवस्था आउन नदिन देशभरका सबै सरकारी अस्पतालहरूलाई आज नियमित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइएको छ,” सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयको यो निर्देशनपछि आज सार्वजनिक बिदा भए पनि सर्वसाधारणले अन्य सामान्य दिनमा जस्तै सरकारी अस्पताल पुगेर ओपिडी सेवा लिन सक्नेछन् ।