काठमाडौँबाट विस्थापित सुकुम्बासीलाई भक्तपुरका दुई ‘सेल्टर’ मा अस्थायी बास
भक्तपुर, २१ वैशाख । काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका अनधिकृत बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरूलाई भक्तपुरका दुई छुट्टाछुट्टै स्थानमा अस्थायी आश्रय (सेल्टर) दिइएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकाको बोडे (सिन्टिटार) स्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा उनीहरूका लागि अस्थायी बासस्थानको व्यवस्था मिलाइएको हो।
सरकारले दुवै सेल्टरमा राखिएका सुकुम्बासीहरूका लागि निःशुल्क खाने र बस्ने व्यवस्था गरेको छ। खरिपाटीस्थित तालिम केन्द्रको होस्टेलमा हाल १४० जनालाई राखिएको छ। उनीहरूलाई परिवारअनुसार छुट्टाछुट्टै कोठाको व्यवस्था मिलाइएको छ। २५० जनाको क्षमता रहेको यो केन्द्रमा यसअघि कोरोना महामारीका बेला चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थी र सङ्क्रमितहरूलाई राखिएको थियो।
त्यसैगरी, काठमाडौँको टेकुस्थित सुकुम्बासी बस्तीबाट ल्याइएका ३९ जनालाई मध्यपुरथिमिकाे कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखिएको छ। आफूहरूलाई गाडीमा राखेर ल्याइएको बताउँदै सुकुम्बासीहरूले तत्कालका लागि खान र बस्न पाएकोमा राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्। आइतबार प्रधानमन्त्री कार्यालयको एक टोलीले यी सेल्टरहरूको अनुगमन गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको थियो।
दुवै सेल्टरमा रहेका विस्थापित सुकुम्बासीहरूका लागि बागमती प्रदेश सरकारले तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरेको छ। प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको निर्देशनपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार, आइतबार भक्तपुर अस्पतालका चिकित्सकसहितको टोलीले दुवै सेल्टरमा रहेका नागरिकको सामान्य स्वास्थ्य परीक्षण गरेको थियो। आज (सोमबार) दुवै स्थानमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधि वितरण गर्नुका साथै विस्थापितहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै मनोपरामर्श सेवासमेत उपलब्ध गराइने उनले जानकारी दिइन्।