कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा दुई भारतीय मजदुरको मृत्यु, एक घाइते
कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार, गएराति इँटा उद्योगका मजदुरहरू काँचो इँटाको चट्टा (थुप्रो) माथि सुतिरहेका थिए। सोही क्रममा इँटामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतिरहेको चट्टामा ठोक्किएर उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी भारतको उत्तर प्रदेश, बहराइचका २७ वर्षीय अजय कुमार र ९ वर्षीय बालक पवन कुमारको मृत्यु भएको हो। गम्भीर घाइते भएका अजयलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुवै मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
त्यसैगरी, दुर्घटनामा गम्भीर घाइते भएका ११ वर्षीय बालक घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन्। पानी छर्किने ट्याङ्करसहितको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको डीएसपी शाहीले जानकारी दिए।