हाइनान ओपन तेक्वान्दो: चीनमा नेपाली खेलाडीको सानदार प्रदर्शन, चार स्वर्ण पदक प्राप्त
काठमाडौँ, २१ वैशाख । चीनमा सम्पन्न ‘हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा नेपाली खेलाडीहरूले सानदार प्रदर्शन गर्दै चारवटा स्वर्ण पदक जितेका छन्। चीनको सान्यामा मे २ देखि ४ तारिखसम्म सञ्चालन भएको यस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट कौशल प्रदर्शन गरेको हो।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार यस प्रतियोगितामा भिजन तामाङले दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्। भिजनले १९ वर्षमुनिको व्यक्तिगत पुम्से र ४९ केजी तौल समूहमा गरी दुई छुट्टाछुट्टै विधामा स्वर्ण पदक हात पारेका हुन्।
प्रतियोगितामा आयुष बोहराले एक स्वर्ण र एक कास्य पदक जितेका छन्। आयुषले ब्रेकिङ इभेन्टमा स्वर्ण पदक प्राप्त गरे भने व्यक्तिगत पुम्सेतर्फ कास्य पदकमा चित्त बुझाए। त्यस्तै, सन्दीप बस्नेतले पनि ब्रेकिङ विधामा सानदार प्रदर्शन गर्दै नेपालका लागि थप एक स्वर्ण पदक दिलाएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली तेक्वान्दो खेलाडीहरूले प्राप्त गरेको यो सफलताले नेपाली खेलकुद क्षेत्रमा उत्साह थपेको छ। प्रशिक्षक खड्काले खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनले चीनको भूमिमा नेपाली झण्डा फहराउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो।