रोकिएका फाइल एक साताभित्र फर्छ्योट गर्न कार्यवाहक मेयर डङ्गोलको निर्देशन
काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएर रोकिएका सबै फाइल आगामी एक साता (सोमबार) भित्र फर्छ्योट गरी शून्यमा झार्न निर्देशन दिएकी छन् ।
महानगरका कामकारबाहीबारे आयोजित पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरूलाई यस्तो निर्देशन दिएकी हुन् । प्रक्रिया पुगेका फाइल तत्काल स्वीकृत गर्न र नपुगेका फाइललाई कारण खुलाएर फिर्ता पठाई ‘पेन्डिङ फाइल’ शून्य बनाउन उनको जोड छ ।
कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयनमा गुणस्तर कायम हुन नसक्ने अवस्था रहे त्यस्ता कार्यक्रम अघि नबढाउन वडा सचिवहरूलाई समेत सचेत गराइन् । “बेरुजु शून्य बनाउन उच्च लगाव चाहिएको छ, राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ,” उनले भनिन्, “सार्वजनिक जग्गा अतिक्रमण हटाएर सम्पत्तिको अभिलेखन गर्ने, पूर्वाधारका कामलाई गुणस्तरीय बनाउने र रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनुपर्छ । वडाबाटै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ ।”
समीक्षा कार्यक्रममा वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले हालसम्म महानगरको समग्र खर्च ४०.९४ प्रतिशत र वडाहरूको खर्च ३९.३० प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७.१७ प्रतिशत प्रगति गरेको छ भने बढी खर्च गर्ने दोस्रो र तेस्रो वडाले क्रमशः ५६.४७ र ५०.६२ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् ।
यसैगरी, सबैभन्दा कम खर्च गर्ने वडाको प्रगति जम्मा १३.२१ प्रतिशत छ । कम खर्च गर्ने अन्य दुई वडाको प्रगति क्रमशः १६.८१ र १७.६८ प्रतिशत रहेको विभागले जनाएको छ ।
महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्दै आएको छ । जसमा वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वटालाई ‘ठूला वडा’ मानिएको छ ।
त्यस्तै, वडा नं २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वटालाई ‘मझौला’ तथा बाँकी १८, १९, २०, २१, २३ र २७ वडालाई ‘साना वडा’ को सूचीमा राखिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य वडास्तरीय विकास निर्माणका लागि महानगरले ठूला वडालाई १० करोड, मझौलालाई ७ करोड ५० लाख र साना वडालाई ५ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ ।