काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन आह्वान, जेठ १७ मा परीक्षा
काठमाडौँ, वैशाख ३० । काठमाडौँ महानगरपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ। महानगरले परीक्षा प्रणालीमार्फत योग्यताक्रमका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन आगामी जेठ १७ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार छात्रवृत्तिमा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी जेठ १ गते बिहान १०:०० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विद्यार्थीहरूले महानगरको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत आवेदन फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ।
प्रवेश परीक्षा आगामी जेठ १७ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुने तय भएको छ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् ।
महानगरपालिकाले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन विगतका वर्षदेखि नै परीक्षा प्रणाली अवलम्बन गर्दै आएको छ । कुन विद्यालयमा कति कोटा उपलब्ध छ भन्ने विवरण, विषयगत अङ्कभार र परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा उपलब्ध गराइएको महानगरले जनाएको छ ।
यो छात्रवृत्ति व्यवस्थाले जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।