विश्व शान्तिका लागि बुद्धका उपदेश व्यवहारमा उतार्न राष्ट्रसंघमा नेपालको अपिल
काठमाडौँ, ३० वैशाख । नेपालले विश्व शान्ति र सहकार्यका लागि भगवान् गौतम बुद्धका उपदेशहरूलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
बुद्ध जयन्ती (वेसाक डे) का अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
श्रीलंका र थाइल्यान्डका स्थायी नियोगले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा राजदूत थापाले लुम्बिनीलाई विश्व शान्ति, आध्यात्मिक पुनर्जागरण र साझा मानवीय मूल्य–मान्यताको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए ।
विश्वभर बढ्दो द्वन्द्व, विभाजन, असमानता र जलवायु परिवर्तनका चुनौतीबीच करुणा, अहिंसा, सचेतना र एकतासम्बन्धी बुद्धका कालजयी उपदेशहरू वर्तमान विश्वमा अझ सान्दर्भिक बनेको उनले औँल्याए ।
“शान्ति आफैँभित्रबाट सुरु हुन्छ र यसलाई सचेत रूपमा विकास गर्दै लैजानुपर्छ,” राजदूत थापाले सम्बोधनका क्रममा भने, “यसका लागि राष्ट्रहरूबीच थप ऐक्यबद्धता, मर्यादा, न्याय र सहकार्य आवश्यक छ ।”
राजदूत थापाले ‘वेसाक’ (बुद्ध जयन्ती) केवल एक धार्मिक उत्सव मात्र नभई विश्व शान्ति, सद्भाव र मानवताका लागि न्यायपूर्ण तथा दिगो भविष्य निर्माण गर्ने सामूहिक आह्वान भएको धारणा व्यक्त गरे ।