हिमाल आरोहणका लागि ११ सय ८१ आरोहीले लिए अनुमति, सवा अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ५ जेठ । सन् २०२६ को वसन्तकालीन मौसममा हिमाल आरोहणका लागि विदेशी आरोहीहरूको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार यस सिजनमा ७९ देशका कुल १ हजार १८१ आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
हिमाल आरोहण अनुमति जारी गरेबापत सरकारले यस वर्ष १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व उठेको छ ।
सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै चीनका १०९ नागरिकले अनुमति लिएका छन् । यस्तै, अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अस्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ र ब्राजिलका १० जनाले अनुमति लिएका छन् ।

सगरमाथापछि ल्होत्से हिमालका लागि १४३ र आमादब्लमका लागि १११ जनाले अनुमति लिएका छन् । यस्तै नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६ र धवलागिरिका लागि ३० जनाले आरोहण अनुमति पाएका छन् ।
राजस्वका आधारमा ल्होत्सेबाट ६ करोड ३६ लाख, आमादब्लमबाट १ करोड ६६ लाख र कञ्चनजङ्घाबाट १ करोड ६० लाख रुपैयाँ सङ्कलन भएको छ ।

यस वर्षको सगरमाथा आरोहण यही वैशाख ३१ गतेबाट विधिवत रूपमा सुरु भइसकेको छ । डोरी टाँग्ने (रोप फिक्सिङ) र बाटो बनाउने काम सकिएसँगै आरोहीहरू शिखर पुग्ने क्रम जारी छ । पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई अनुमति दिने गर्दछ भने त्योभन्दा कम उचाइका (५,८०० देखि ६,५०० मिटर) हिमालको अनुमति नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले प्रदान गर्दै आएको छ ।

पछिल्ला वर्षहरूमा नेपालका हिमालहरूमा आरोहणका लागि आउने विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जाँदा पर्यटन क्षेत्रमा उत्साह देखिएको छ ।