मुस्ताङ भेप तस्करी प्रकरणः थप दुई अभियुक्त पक्राउ, १६ करोड बढीको अवैध सामान बरामद

काठमाडौँ, जेठ ६ । नेपाल-चीन सीमास्थित उत्तरी कोरला नाकाबाट भन्सार छली अवैध रूपमा ल्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको थासाङ गाउँपालिकास्थित लेते चेकपोस्टमा जाँच गर्ने क्रममा शनिबार बिहान उनीहरूलाई एक थान स्कार्पियो गाडीसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-४ का ४१ वर्षीय दीपेश गदाल र लिसङ्खु पाखर गाउँपालिका-७ का ३९ वर्षीय रवीन्द्र दर्नाल रहेका छन् । उनीहरूले बा.ई. ४९२२ नम्बरको स्कार्पियो गाडी प्रयोग गरी अवैध सामान ओसारपसारका लागि नक्कली कागजात तयार पार्न सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसअघि शुक्रबार राति लोमान्थाङ–४ एक्लेभट्टीमा मुस्ताङ भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले ना.६ख ४७४३ र ना.५ख ७९२१ नम्बरका दुई वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको थियो । सो क्रममा ५९० कार्टुन भेपसहित जुत्ता, मोजा, लत्ताकपडा र अन्य विद्युतीय सामग्री गरी कुल १६ करोड ६५ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो ।

सोही प्रकरणमा यसअघि नै धादिङका सन्तोष लामा तथा सिन्धुपाल्चोकका फुन्चु दोर्जे र पासाङ शेर्पालाई नियन्त्रणमा लिइसकिएको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार पक्राउ परेका पाँचै जना विरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कानुनी कारबाही र थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।