वीरगञ्ज नाकाबाट १० महिनामा ८८ अर्ब बढीको सामान निर्यात, मुख्य निर्यातमा भटमासको प्रशोधित तेल

पर्सा, १५ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु. ८८ अर्ब २२ करोड मूल्य बराबरका विभिन्न वस्तु तथा सामान निर्यात भएका छन्। यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५ अर्ब रुपैयाँले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनामा यस नाकाबाट रु. ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका थिए। गत वर्षको तुलनामा यस वर्ष निर्यात दरमा केही सुधार देखिएको छ।

मुख्य निर्यात भएका वस्तुहरूमा
प्रशोधित भटमासको तेल: यस नाकाबाट निर्यात हुने वस्तुहरूमध्ये प्रशोधित भटमासको तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। समीक्षा अवधिमा रु. ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ।
फलफूलको रस (जूस): दोस्रो ठूलो निर्यात वस्तुका रूपमा रु. ६ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ।
प्रशोधित सूर्यमुखी तेल: यस अवधिमा रु. ५ अर्ब ३५ करोड मूल्य बराबरको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ।
कपडा तथा सिन्थेटिक यार्न: वीरगञ्ज नाका हुँदै रु. ३ अर्ब ३ करोड मूल्य बराबरका तयारी कपडा र रु. २ अर्ब २५ करोड मूल्य बराबरको ‘सिन्थेटिक यार्न’ (धागो) निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *