अमेरिकामा सञ्चार समस्यापछि सम्पूर्ण उडान रोकियो, हजारौं यात्रु प्रभावित
वासिङ्टन । वायुयात्रा नियन्त्रण केन्द्रहरूमा परेको ‘सञ्चार समस्या’का कारण संयुक्त राज्य अमेरिकाका सबै विमानस्थलमा उडान रोकिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षाका लागि देशव्यापी ‘ग्राउन्ड स्टप’ जारी गरेसँगै हजारौं उडान ढिलाइ वा रद्द भएका छन्।
अमेरिकी परिवहन सचिव सियान डफीले सबै २२ वायुमार्ग यातायात नियन्त्रण केन्द्रमा सञ्चार समस्या देखिएको बताउँदै एफएएका प्राविधिकहरू समस्या अनुसन्धानमा लागेको जानकारी दिए।
उडानमा ठूलो असर
एफएएले असामान्य परिस्थिति र सुरक्षाको कारण देखाउँदै सबै उडानलाई जमिनमै रोक्न निर्देशन दिएको हो। अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानहरू भने अवस्था हेरी छुट्टाछुट्टै व्यवस्थापन गरिने एजेन्सीले जनाएको छ।
उड्डयन ट्र्याकिङ कम्पनी फ्लाइटअवेयरका अनुसार करिब ७,००० उडान ढिलाइ वा रद्द भएका छन्। त्यसैगरी फ्लाइटरडार२४का अनुसार ग्राउन्ड स्टप जारी हुँदा करिब ४,०४२ उडान अमेरिकी विमानस्थलतर्फ आकाशमै थिए।
साइबर आक्रमणको आशंका नभएको
गृह सुरक्षा सचिव मार्कवेन मुलिनले यसलाई अमेरिकाविरुद्धको कुनै सुरक्षा धम्कीसँग जोड्ने आधार नभएको बताए। “सबै उडान सुरक्षित छन् र सबै यात्रुको हिसाब छ,” उनले भने, “यो अर्को ९/११ होइन।”
ब्लुमबर्गले उद्धृत गरेका एक अधिकारीका अनुसार एफबीआईले साइबर आक्रमण वा आपराधिक गतिविधिको सम्भावना नरहेको विश्वास गरेको छ। तर अनुसन्धानकर्ताहरूले सफ्टवेयर अपडेटका कारण समस्या आएको हुनसक्ने सम्भावना पनि जाँचिरहेका छन्।
एआई प्रणालीमाथि प्रश्न
एफएएले भर्खरै विस्तार गरेको एआईआधारित वायुयात्रा व्यवस्थापन प्रणाली ‘स्मार्ट’ यस अवरोधको कारण होइन भन्ने एयर स्पेस इन्टेलिजेन्स (एएसआई) ले दाबी गरेको छ। कम्पनीले आफ्नो प्रविधि वा एफएएसँगको एकीकरणले ग्राउन्ड स्टप निम्त्याएको नभएको बताएको छ।
तर अधिकारीहरूले नयाँ एआई उपकरणको रोलआउट समस्याको कारण हुनसक्ने सम्भावनालाई पूर्ण रूपमा बाहिर नगरेको बताएका छन्। एफएएले जुन महिना एएसआईसँग ८७ करोड ५० लाख डलरको सम्झौता गरेको थियो, त्यसपछि नोभेम्बर १० मा २२ नियन्त्रण केन्द्रमा प्रणाली विस्तार गरेको थियो।
रेल सेवामा पनि असर
वायुसेवा अवरुद्ध भएपछि अमेरिकी राष्ट्रिय रेल सेवा अम्ट्राकको वेबसाइट र मोबाइल एपमा पनि त्रुटि देखिएको छ। कम्पनीले उडान अवरोधका कारण ग्राहकका कल असामान्य रूपमा बढेको र सेवाग्राहीलाई सम्पर्क गर्न कठिनाइ भएको जनाएको छ।
पुरानो पूर्वाधारको चिन्ता
यो घटनाले अमेरिकी वायुयात्रा नियन्त्रण प्रणालीमा रहेको पुरानो पूर्वाधार, सञ्चार समस्या र नियन्त्रकको अभावलाई फेरि उजागर गरेको छ। कांग्रेसले गत वर्ष पूर्वाधार सुधारका लागि १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको १२.५ अर्ब डलर स्वीकृत गरेको थियो, भने परिवहन विभाग र व्हाइट हाउसले थप ३०.१ अर्ब डलर माग गरेका छन्।
यो २०२३ जनवरीपछि एफएएले जारी गरेको पहिलो देशव्यापी ग्राउन्ड स्टप हो। त्यसअघि यस्तो देशव्यापी रोकटोक २००१ को सेप्टेम्बर ११ का आक्रमणपछि लागू भएको थियो।
सञ्चार अवरोधको कारण अझै पुष्टि नभएको र ग्राउन्ड स्टप कहिले हट्ने भन्ने स्पष्ट जानकारी पनि एफएएले दिएको छैन।
