जलवायु सङ्कट रोक्न प्रतिवर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

एजेन्सी, २८ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्न तत्काल हरितगृह ग्यास उत्सर्जनमा व्यापक कटौती गर्न आह्वान गर्नुभएको छ । उहाँले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले उत्सर्जन घटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा सम्बोधन गर्दै गुटेरेसले वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको बताउनुभयो ।

तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न कठिन देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउनुपर्ने उहाँको भनाइ थियो । यसका लागि उत्सर्जन कटौतीसँगै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विकासशील मुलुकलाई वित्तीय तथा प्राविधिक सहयोग बढाउनुपर्ने उहाँले बताउनुभयो ।

गुटेरेसले जीवाश्म इन्धन जलवायु सङ्कटको प्रमुख कारक रहेको उल्लेख गर्दै त्यसबाट न्यायोचित र व्यवस्थित रूपमा बाहिरिनुपर्नेमा जोड दिनुभयो । स्वच्छ ऊर्जा, विद्युत् प्रसारण सञ्जाल, ऊर्जा भण्डारण र स्वच्छ विद्युतीकरणमा लगानी बढाउनुपर्ने उहाँको सुझाव थियो ।

उहाँले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नराखी शान्ति, विकास, मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । जलवायु सङ्कटमा सबैभन्दा कम योगदान गरेका देश तथा समुदायले नै यसको बढी असर भोग्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र जलवायु वित्त आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

महासचिवका रूपमा आफ्नो करिब १० वर्षे कार्यकालको अन्तिम जलवायु सम्मेलनमा सहभागी गुटेरेसले जलवायु परिवर्तनको सामना कुनै एक देशले एक्लै गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विज्ञानको अनुसरण गर्दै तत्काल कार्यान्वयनमा जुट्न विश्व समुदायलाई आग्रह गर्नुभयो ।

टर्किएको अन्ताल्यामा जारी कोप–३१ नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *