युक्रेनलाई ड्रोन दिने जर्मन कम्पनीमाथि साइबर हमला, रुसी संलग्नताको आशङ्का
एजेन्सी, २७ कात्तिक । युक्रेनलाई सैन्य ड्रोन आपूर्ति गर्दै आएको जर्मनीको रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्समाथि साइबर आक्रमण भएको छ । गत महिना भएको आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको छ । आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीले निर्माण गरेका केही ड्रोनको उडान अस्थायी रूपमा रोकेको थियो ।
कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर एक शत्रुतापूर्ण समूहले उसको प्रणालीमाथि साइबर हमला गरेको थियो । सरकारी निकायसँगको समन्वय र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाबाट खतरा नियन्त्रणमा लिइएको कम्पनीले जनाएको छ ।
घटनाबारे जानकार स्रोतका अनुसार ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीमा अद्यावधिक सूचना पठाउने सर्भरमार्फत हानिकारक फाइल पठाइएको थियो । प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता देखाएको र जर्मनीका गुप्तचर निकायले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।
युक्रेनलाई सैन्य सहयोग गर्दै आएको जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ । तर रुसले यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।
क्वान्टम सिस्टम्सका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन् । कम्पनीले युक्रेनलाई सहयोग गर्ने रक्षा उत्पादकहरूलाई नै लक्षित गरेर यस्ता आक्रमण भइरहेको जनाएको छ ।
