वेस्ट बैंकमा दुई इजरायली सैनिकको हत्यापछि भवनहरू भत्काउन सुरु, चुनावअघि ठूलो सैन्य कारबाहीको चेतावनी

यसैबीच, चुनावको संवेदनशील समयमा हुन सक्ने थप खतरालाई मध्यनजर गर्दै इजरायली सेनाले आइतबार र सोमबार उत्तर तथा मध्य इजरायलमा बहु-पक्षीय (मल्टी-फ्रन्ट) आक्रमणको अनुकरण गर्दै ठूलो सैन्य अभ्यास (मिलिट्री ड्रिल) गर्ने तयारी समेत गरेको छ।

यरुशलम ।  ओक्युपाइड वेस्ट बैंकको हेब्रोन शहरमा दुई प्यालेस्टिनी बन्दुकधारीले गराएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएपछि इजरायली सेनाले सो क्षेत्रका घरहरू खाली गराउँदै संरचनाहरू भत्काउन सुरु गरेको छ।

सिएनएन, रोयटर्स तथा टाइम्स अफ इजरायल लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान इजरायली सैन्य चेकपोइन्टमा दुई प्यालेस्टिनी आक्रमणकारीले गोली चलाएका थिए। घण्टौँसम्म चलेको दोहोरो मुठभेडपछि दुवै आक्रमणकारीलाई इजरायली सेनाले गोली हानी मारेको जनाएको छ।

इजरायलमा आगामी साता हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा यो घटना भएको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हेब्रोन शहरलाई पूर्ण रूपमा घेराबन्दी (कर्डन) गर्न आदेश दिँदै सम्पूर्ण वेस्ट बैंकमा आवागमन ठप्प पारिने घोषणा गरेका छन्।

नेतान्याहूले आक्रमण भएको हेब्रोनको फर्श अल-हावा क्षेत्रका बासिन्दालाई ५ मिनेटभित्र घर खाली गर्न आदेश दिँदै सेनाले घर-घरमा पुगेर हतियार खोस्ने र “आतङ्ककारी पूर्वाधार” नष्ट गर्ने बताएका छन्। यो कारबाही सन् २०२५ को सुरुवातमा जेनिन, तुल्काराम र अल-फारा शरणार्थी शिविरहरूमा अपनाइएको रणनीतिकै निरन्तरता भएको उनले उल्लेख गरे, जसका कारण हजारौँ प्यालेस्टिनीहरू विस्थापित भएका थिए।

इजरायली रक्षा बल (आईडीएफ) का चीफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जामीरले आक्रमण स्थलको निरीक्षण गर्दै सैनिकहरूको सतर्कताका कारण अझ ठूलो क्षति हुनबाट जोगिएको बताएका छन्। आक्रमणकारीको गाडीबाट ठूलो परिमाणमा गोलीगट्टा र हतियार बरामद भएको र ती हतियार अझ ठूलो आक्रमणका लागि ल्याइएको जामीरको भनाइ छ।

हमासले यस आक्रमणको प्रशंसा गरे पनि आधिकारिक रूपमा जिम्मेवारी भने लिएको छैन। अर्कोतर्फ, इजरायलका विपक्षी नेता तथा पूर्व सैनिक प्रमुख गाडी इसेनकोटले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैबीच, चुनावको संवेदनशील समयमा हुन सक्ने थप खतरालाई मध्यनजर गर्दै इजरायली सेनाले आइतबार र सोमबार उत्तर तथा मध्य इजरायलमा बहु-पक्षीय (मल्टी-फ्रन्ट) आक्रमणको अनुकरण गर्दै ठूलो सैन्य अभ्यास (मिलिट्री ड्रिल) गर्ने तयारी समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *