इजरायली सेनाको छापा: हेब्रोनबाट २,२०० भन्दा बढी प्यालेस्टिनी विस्थापित

हेब्रोन । इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकमा सैन्य अभियान तीव्र पारेसँगै हेब्रोन सहरबाट करिब २,२०० प्यालेस्टिनीहरू विस्थापित भएका छन्। हेब्रोनका मेयर युसुफ अल-जाबारीका अनुसार इजरायली बलले सहरका अल-जल्दा र एन देर बाहा क्षेत्रमा छापा मार्दै सर्वसाधारणलाई घर छाड्न बाध्य पारेका हुन्।

इजरायलले हेब्रोन सहरलाई पूर्ण रूपमा घेराबन्दी गर्दै प्रवेश र प्रस्थानका सबै नाकाहरू बन्द गरिदिएको छ। मेयर अल-जाबारीले अल जजिरालाई दिएको अन्तर्वार्तामा इजरायलको यो कदमलाई प्यालेस्टिनी जनतामाथिको “सामूहिक सजाय”  को रूपमा टिप्पणी गरेका छन्। उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी चुनावलाई लक्षित गरी राजनीतिक स्वार्थका लागि सर्वसाधारणलाई जबर्जस्ती विस्थापित गर्ने नीति अपनाएका हुन्।

सैन्य कारबाहीका क्रममा इजरायली फौजले ऐतिहासिक इब्राहिमी मस्जिदका सम्पूर्ण कर्मचारीहरूलाई हटाई, प्रार्थनामा प्रतिबन्ध लगाउँदै मस्जिदका ढोकाहरू बन्द गरिदिएका छन्। सहरमा सयौँ उद्योग-कलकारखाना ठप्प भएका छन् भने मानवीय संकट गहिरिँदै गएको बताइएको छ।

हेब्रोनका प्यालेस्टिनी अधिकारकर्मी तथा राजनीतिक विश्लेषक इसा अम्रोका अनुसार सिङ्गो हेब्रोन प्रशासनिक क्षेत्रका करिब ८ लाख प्यालेस्टिनी नागरिक अहिले इजरायली घेराबन्दीमा परेका छन्। सेनाले रातको समयमा बस्तीहरूमा माइकिङ गर्दै घर खाली गर्न चेतावनी दिएपछि बालबालिका, महिला तथा वृद्धवृद्धा आवश्यक लुगाकपडा र सामानसमेत नलगी मध्यरातमा सुरक्षित स्थानको खोजीमा निस्कन बाध्य भएका थिए।

अम्रोका अनुसार सहरको मुख्य भागमा रहेका चेकपोइन्टहरू बन्द गरिएकाले करिब १,००० प्यालेस्टिनी परिवार घरभित्रै थुनिएका छन् र उनीहरूलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीसम्मको पहुँचबाट वञ्चित गराइएको छ।

यसैबीच, प्यालेस्टिनी बन्दी सङ्घका अनुसार इजरायली फौजले वेस्ट बैंकका १५ भन्दा बढी क्षेत्रहरूमा छापा मारी व्यापक धरपकड गरेको छ। रामल्लाह, जेरिन, नाबलस, बेथलहेम, जेरुसेलम, अल-बिरेह र बिरजित लगायतका स्थानहरूबाट दर्जनौँ प्यालेस्टिनीहरू पक्राउ परेका छन्।

हेब्रोनमा कुनै सैन्य पूर्वाधार नरहेको र केवल अवैध इजरायली बसोबासी (सेटलर्स) हरू रहँदै आएको बताउँदै मानवअधिकारवादीहरूले अन्तर्राष्ट्रिय समुदायको मौनताप्रति चिन्ता व्यक्त गरेका छन्। इजरायलले गाजामा जस्तै हेब्रोनका सार्वजनिक संस्था, उद्योग र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याउन सक्ने भय स्थानीय बासिन्दाहरूमा छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *