नासाको “सबैभन्दा जटिल प्रक्षेपण अभियान”: दुई चन्द्र ल्यान्डर परीक्षणको तयारी
काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले शुक्रवार प्रतिस्पर्धी कम्पनीहरू ब्लु अरिजिन र स्पेसएक्सले बनाइरहेका दुई चन्द्र ल्यान्डर तथा आफ्नै रकेट र अन्तरिक्षयान अर्को वर्षको महत्त्वपूर्ण परीक्षण अभियानका लागि तयार पार्न चलिरहेको तीव्र प्रयासबारे नयाँ जानकारी दिएको छ।
पृथ्वीको होचो कक्षमा अर्को वर्ष गरिने परीक्षण उडान र सन् २०२८ मा हुने मानव चन्द्र अवतरणप्रतिको प्रतिबद्धता दोहोर्याउँदै नासाका प्रमुख जेरेड आइज्याकम्यानले पत्रकार सम्मेलनमा भने, “थप समय, थप रकम र कम उडानले हाम्रो काम अझ सुरक्षित वा सम्भव बनाउँछ भन्ने भ्रममा हामी बस्दैनौँ।”
ब्लु अरिजिन र स्पेसएक्स दुवैले ओरायन अन्तरिक्षयानबाट अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा ओराल्न सक्ने यान विकास गर्न नासासँग अर्बौँ डलरको सम्झौता गरेका छन्।
आइज्याकम्यानले चेतावनी दिँदै भने, “सबै आपूर्तिकर्ता र साझेदारले बुझून्, तालिका बिग्रिएमा नासाका कर्मचारी निरीक्षण गर्न, प्रतिवेदन लेख्न वा समिति बोलाउन होइन, आस्तिन तान्दै समस्या समाधान गर्न तपाईंको ढोका ढकढक्याउन आउनेछन्।”
फेब्रुअरीमा नवनियुक्त प्रशासकका रूपमा आइज्याकम्यानले चन्द्र अवतरणको कार्ययोजना फेरबदल गर्दै सन् २०२७ मा थप एउटा परीक्षण अभियान थपेका थिए। आर्टेमिस–३ नामक यस अभियानमा ब्लु अरिजिन र स्पेसएक्स दुवैका यानले पृथ्वीबाट केही सय माइलको होचो कक्षमा ओरायनसँग डकिङको अभ्यास गर्नेछन्। चन्द्रमा पृथ्वीबाट २ लाख ३८ हजार ८५५ माइल (३ लाख ८४ हजार ४०० किलोमिटर) टाढा छ।
अनुमानित १४ दिने यो अभियानमा तीनवटा विशाल रकेट प्रक्षेपण गरिनेछ र मानवसहितको ओरायनलाई प्रयोगात्मक यानहरूसँग पटक–पटक जोड्ने र छुट्याउने काम हुनेछ। नासाको आर्टेमिस कार्यक्रम प्रबन्धक जेरेमी पार्सन्सका अनुसार यो “सम्भवतः अहिलेसम्मकै सबैभन्दा जटिल प्रक्षेपण अभियान” हुनेछ।
आर्टेमिस–३ ले आर्टेमिस–४ का लागि कुन ल्यान्डर प्रयोग गर्ने भन्ने निर्णयमा सघाउनेछ। आर्टेमिस–४ मा सन् १९७२ मा अपोलो कार्यक्रम सकिएपछि पहिलो पटक अन्तरिक्षयात्री चन्द्रमाको सतहमा ओर्लनेछन्।
दुई फरक डिजाइन
स्पेसएक्स: सन् २०२१ मा चन्द्र अवतरण सम्झौता पाउने पहिलो कम्पनी स्पेसएक्सले विशाल स्टारशिप प्रयोग गर्ने योजना बनाएको छ। विकासकै क्रममा रहेको यो प्रणालीले हालै पहिलो कक्षीय परीक्षण उडान पूरा गरेको छ। स्टारशिप दुई भागको प्रणाली हो—सुपर हेभी बुस्टर र माथिको १७१ फिट अग्लो स्टारशिप यान, जसमा आफ्नै छवटा इन्जिन छन्। यो यान चन्द्र ल्यान्डर र रकेटको माथिल्लो चरण दुवैको भूमिका निर्वाह गर्नेछ। अन्तरिक्ष इतिहासमै यस्तो यान पहिले कहिल्यै उडेको छैन।
ब्लु अरिजिन: कम्पनीको ब्लु मुन मार्क–२ पुराना चन्द्र ल्यान्डरको डिजाइनसँग बढी मिल्दोजुल्दो छ। ५२ फिट अग्लो यो यान न्यु ग्लेन रकेटको कार्गो खण्डभित्र राखेर प्रक्षेपण गरिने अपेक्षा छ, र देखिन्छ अपोलो कालका ल्यान्डरकै ठूलो संस्करणजस्तै। ब्लु मुनले अहिलेसम्म कुनै परीक्षण उडान गरेको छैन।
कम्पनीले यस वर्ष सानो कार्गो संस्करण ब्लु मुन मार्क–१ प्रक्षेपण गर्ने योजना बनाएको थियो। तर मे महिनामा नियमित भूमि परीक्षणका क्रममा न्यु ग्लेन रकेट विस्फोट भई कम्पनीको फ्लोरिडास्थित प्रक्षेपण स्थल नष्ट भएपछि ती योजना रोकिएका छन्।
आर्टेमिस–३ वा आर्टेमिस–४ अघि दुवै कम्पनीका यानले लामो परीक्षण र प्रविधि प्रदर्शन पार गर्नुपर्नेछ। कुनै पनि यान अहिलेसम्म चालकदलसहित उडेको वा अन्तरिक्षयात्री बोकेको यानसँग जोडिएको छैन।
अन्य परिवर्तन
पत्रकार सम्मेलनमा नासाले आर्टेमिस कार्यक्रमका अन्य पक्षमा गरिएका परिवर्तन पनि स्वीकार गर्यो। उत्पादन तीव्र बनाउने प्रयास, स्पेस लन्च सिस्टम (एसएलएस) रकेट र ओरायनको डिजाइन परिवर्तन तथा ह्युस्टनको कम्पनी एक्सियमले डिजाइन गरेको चन्द्रमा हिँड्ने सुटको सरल र हल्का संस्करणलाई स्वीकृति दिइएको छ।
आर्टेमिस–४ लगायत सुरुका अवतरण अभियानका लागि यी सरल सुट चाँडै तयार पार्न सकिने अपेक्षा छ। एक्सियमले पछिका कठिन अभियानका लागि थप उन्नत संस्करण बनाउन भने जारी राख्नेछ। पार्सन्सका अनुसार नासा “लगभग सबै क्षेत्रमा कठिन आवश्यकता हटाएर सरलीकरण गर्न खोजिरहेको” छ। तर अहिले तालिका निर्धारण गर्ने मुख्य कारक ल्यान्डर नै भएको उनले बताए।
आर्टेमिस–३ मा उड्ने ब्लु मुनको हार्डवेयर हाल निर्माणाधीन छ। स्पेसएक्सले भने अर्को वर्ष कम्पनीको उत्पादन लाइनबाट “तानेर निकालिएको” जस्तो अत्यन्त सरल स्टारशिप उडाउनेछ, जबकि कम्पनी डिजाइनमा सुधार गरिरहेको छ। परीक्षण उडानमा स्टारशिपका र्याप्टर इन्जिनको विश्वसनीयतामा समस्या देखिएको छ।
नासाका सहायक प्रशासक अमित क्षत्रियले सिएनएनसँग भने, “अहिले देखिएका अधिकांश समस्या पुनः प्रयोगसँग सम्बन्धित छन्।” अर्थात्, इन्जिनका समस्याले यान पुनः प्रयोग गर्ने र लागत घटाउने क्षमतामा असर पार्न सक्छन्, तर स्टारशिप आर्टेमिस–३ का लागि तयार हुन सक्दैन भन्ने होइन। “हामीले सुनिश्चित गर्नुपर्ने कुरा के हो भने, डकिङ परीक्षणका लागि चाहिने समयसम्म स्टारशिपलाई कक्षमा स्थिर राख्न सकियोस्,” उनले भने।
कडा समयसीमा
नासाले सार्वजनिक गरेको नयाँ समयतालिका अनुसार आगामी केही महिनामा स्पेसएक्सले आर्टेमिस–३ मा उड्ने स्टारशिप प्रोटोटाइपको निर्माण पूरा गर्नुपर्नेछ र यानको अवतरण खुट्टा तथा एयरलक परीक्षण गर्न केही प्रदर्शन सम्पन्न गर्नुपर्नेछ। साथै फ्लोरिडामा दुई नयाँ प्रक्षेपण स्थलमा सञ्चालन विस्तार गर्दै परीक्षण उडान अभियान जारी राख्नुपर्नेछ, जसमा कक्षमा दुई स्टारशिपबीच इन्धन सार्ने पहिलो अभ्यास पनि पर्छ।
भारी स्टारशिपलाई चन्द्रमासम्म पुर्याउन यस्तो इन्धन हस्तान्तरण अनिवार्य छ। अत्यन्त चिसो क्रायोजेनिक इन्धन पृथ्वीको कक्षमा दुई यानबीच सारिएको कहिल्यै छैन। स्पेसएक्सको पहिलो प्रदर्शन सन् २०२७ को सुरुमा हुने अपेक्षा छ।
चन्द्र अवतरणका लागि स्पेसएक्सले धेरै इन्धन भर्ने उडान प्रक्षेपण गर्नुपर्नेछ। यसअघि विज्ञहरूले यो संख्या १० देखि ४० बीच हुने अनुमान गरेका थिए। तर स्पेसएक्सका प्रमुख एलन मस्कले यस हप्ता सामाजिक सञ्जालमा चन्द्र अवतरणका लागि छदेखि आठ प्रक्षेपण चाहिने बताए। नासाका अधिकारीहरूले शुक्रवार मस्कको अनुमान पुष्टि गरे, तर इन्धन हस्तान्तरण परीक्षणपछि मात्र अन्तिम संख्या थाहा हुने बताए।
ब्लु अरिजिनको ब्लु मुन मार्क–२ ले पनि चन्द्रमा जानुअघि पृथ्वीको होचो कक्षमा जटिल तयारी गर्नुपर्नेछ। नासाका अनुसार यो ल्यान्डर कम्तीमा तीनवटा बुस्ट चरणसँग जोडिनुपर्नेछ।
कम्पनीसामु पनि लामो कार्यसूची छ। ब्लु अरिजिनले न्यु ग्लेनलाई फेरि उडाउनुपर्नेछ, जुन वर्षको अन्त्यसम्म सम्भव हुन सक्छ, र ढिलाइ भइसकेको ब्लु मुन मार्क–१ परीक्षण उडान अर्को वर्षको सुरुमा सम्पन्न गर्नुपर्नेछ। आर्टेमिस–३ मा प्रयोग हुने ब्लु मुन मार्क–२ मा जीवन रक्षा प्रणाली पनि जडान गर्नुपर्नेछ। ओरायनमा सवार हुने चार अन्तरिक्षयात्रीको चालकदल यान जोडिएकै अवस्थामा मार्क–२ मा प्रवेश गर्ने अपेक्षा छ।
स्टारशिपका हकमा नासाले त्यसो गर्ने योजना बनाएको छैन। स्पेसएक्सले चालकदलसहित ड्रागन यान उडाएको अनुभवलाई आधार मानी आर्टेमिस–३ बाहिर नै यसको जीवन रक्षा प्रणाली जाँच गर्न सकिने नासाले बताएको छ।
आर्टेमिस–३ पछि ब्लु मुन मार्क–२ र स्टारशिप दुवैले अवतरण अभ्यासका लागि मानवरहित यात्रा गर्ने अपेक्षा छ।
गत वर्ष स्पेसएक्सप्रतिको प्रतिबद्धता फिर्ता लिएपछि आर्टेमिस–४ मा कुन यान प्रयोग गर्ने भन्ने नासाले अझै निर्णय गरेको छैन। चीनसँगको होडबीच तालिका सुनिश्चित गर्न चाहेकाले जुन यान पहिले तयार हुन्छ त्यही प्रयोग गर्ने भनी नासाले प्रतिबद्धता जनाएको थियो।
आर्टेमिस–४ सन् २०२८ को सुरुमा हुने तय भएको छ, र दोस्रो अन्तरिक्षयात्री अवतरण आर्टेमिस–५ त्यही वर्ष पछि हुनेछ। यो तालिका फेरिने व्यापक अपेक्षा छ। चीन वर्षौंदेखि सन् २०३० सम्ममा आफ्ना ताइकोनटलाई चन्द्रमाको सतहमा पुर्याउन काम गरिरहेको छ, र विज्ञहरू चीनले त्यो लक्ष्य पूरा गर्ने वा त्योभन्दा चाँडै हासिल गर्ने सम्भावना बढी देख्छन्।
सुरक्षाबारे प्रश्न
तालिका छिटो बनाउन नासाले विभिन्न पुर्जा निर्माण, परीक्षण र सुरक्षा सुनिश्चित गर्नुपर्नेछ, जुन चुनौतीपूर्ण रहेको क्षत्रियले स्वीकार गरे।
“छिटो गर्दा गल्ती हुन सक्छन् भन्ने मैले नबुझेको होइन। जीवनमा त्यो सत्य नै हो,” उनले सिएनएनलाई भने। “तर महत्त्वपूर्ण कुराहरूमा ध्यान दिने हो भने छिटो र सावधान दुवै हुन सकिन्छ।”
नासाका कार्यविधि र मिसनको सुरक्षा निगरानी गर्ने इन्जिनियरिङ प्राविधिक निकायको काम गर्ने तरिकामा “कुनै परिवर्तन हुने छैन” भनी क्षत्रियले थपे।
(सिएनएनको प्रतिवेदनमा आधारित)
