सुनसरीकाे कप्तानगन्ज झडपपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल सुरु
सुनसरी, ११ साउन । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ।
आइतबार राति दुई समुदायबीच भएको भिडन्त र त्यसपछिको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिई सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले यो बैठक बोलाइएको हो। छलफलमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा धार्मिक अगुवाहरूको सहभागिता रहेको छ।
देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। झडपका क्रममा नौ जना प्रदर्शनकारी र १३ जना प्रहरी गरी २२ जना घाइते भएका छन्।
यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको स्थलगत अनुसन्धान गरी एक साताभित्र विस्तृत प्रतिवेदन बुझाउन समयसीमा दिइएको मन्त्रालयले जनाएको छ।