नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिने: पूर्वाधार मन्त्री लम्साल

काठमाडाैं, ११ साउन । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको र हाल बेपत्ता पारिएको शिलालेख खोजी गरी पुनर्स्थापना गरिने प्रतिबद्धता जनाउनुभएको छ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७६ साल कात्तिक ४ गते गर्नुभएको थियो। सो अवसरमा ओलीको नाम अङ्कित गरी राखिएको शिलालेख तोडफोड गरी गायब पारिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला मन्त्री लम्सालले उद्घाटन समारोहका अवसरमा सो शिलालेख पुनः स्थापना गरिने स्पष्ट पार्नुभएको हो।

नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन वि.सं. २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको पालामा भएको थियो। वि.सं. २०७६ मा केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको यस सुरुङको मुख्य भागको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा भएको थियो भने हाल प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यकालमा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ।

उद्घाटनपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लम्सालले नेपाल औपचारिक रूपमा ‘टनेल युग’ मा प्रवेश गरेको र अब देशैभर आवश्यकताअनुसार सुरुङमार्गहरू निर्माण गरिने बताउनुभयो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस अत्याधुनिक सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर र सहायक सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *