रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानकाे ५ लाख राशीको पुरस्कार प्रा.डा. सुरेशराज शर्मा र आविष्कार केन्द्रले पाउने
काठमाडौँ, २९ जेठ । झापाको भद्रपुरमा मुख्य कार्यालय रहेको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको प्रतिष्ठित ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ र ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ को घोषणा गरेको छ ।
प्रतिष्ठानले ५ लाख रुपैयाँ राशीको प्रज्ञान पुरस्कार शिक्षा क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डा. सुरेशराज शर्मा र नवप्रवर्तनमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्रा.डा. सुरेशराज शर्मालाई नेपालको प्राविधिक र उच्च शिक्षाको विकासमा ५० वर्षभन्दा बढी समय समर्पित भई पुर्याउनुभएको योगदानका लागि सम्मानित गर्न लागिएको हो ।
त्यस्तै, युवा वैज्ञानिकहरूलाई अभिप्रेरित गर्दै देश सुहाउँदो प्रविधिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई पनि सोही पुरस्कारबाट सम्मानित गरिनेछ । ५ लाख राशीको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।
प्रतिष्ठानले १ लाख १ हजार १११ रुपैयाँ राशीको ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ पनि संयुक्त रूपमा घोषणा गरेको छ । यस वर्ष यो पुरस्कार मनाङमा उच्च घनत्वको स्याउ उत्पादन गरी ग्रामीण रोजगारी र आयात प्रतिस्थापनमा योगदान पुर्याउने एग्रो मनाङ प्रा.लि. र बागवानी क्षेत्रका विज्ञ चुटराज गुरुङलाई प्रदान गरिने भएको छ ।
यी पुरस्कारहरू भाेली जेठ ३० गते बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने एक विशेष समारोहका बीच समर्पण गरिनेछ । कार्यक्रममा पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने प्रतिष्ठानले जनाएको छ ।
हालसम्म प्रतिष्ठानले प्रज्ञान पुरस्कारबाट २ जना, कृषि पुरस्कारबाट ११ जना, आदर्श आमाबाट १० जना, साहित्य र पत्रकारिताबाट १० जना तथा बाल पुरस्कारबाट ११ जनालाई सम्मानित गरिसकेको छ । सामाजिक संस्कार र समुन्नत समाज निर्माणको लक्ष्यसहित स्थापित यस संस्थाले झापाका स्थानीय विद्यालय र सङ्घसंस्थाहरूलाई पनि सहयोग गर्दै आएको छ ।