पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल र व्यवसायी सिद्धार्थ थापा पक्राउ
काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र व्यवसायी सिद्धार्थ थापालाई नियन्त्रणमा लिएको छ। राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धानको सिलसिलामा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको हो।
सुरक्षा स्रोतका अनुसार अख्तियारको निर्देशनमा सादा पोशाकका प्रहरी टोलीले महानिर्देशक अर्याल र व्यवसायी थापालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यवसायी थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन्।
पासपोर्ट खरिदका क्रममा भएको आर्थिक तथा नीतिगत अनियमितताको विषयमा अख्तियारले केही समयदेखि अनुसन्धान गरिरहेको थियो। सोही प्रकरणमा थप सोधपुछ र बयानका लागि उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको अख्तियार सम्बद्ध स्रोतले जनाएको छ।