प्रतिनिधिसभामा विपक्षीहरूको एउटै स्वर: प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्

काठमाडौँ, २ असार । प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन मङ्गलवार पनि जोडदार माग गरेका छन्। मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उभिएर सो अभिव्यक्ति हटाउनुपर्ने र प्रधानमन्त्री आफैँले संसद्‌मा यसबारे प्रष्ट पार्नुपर्ने अडान दोहोर्‍याएका हुन्।

बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले राष्ट्रियता जस्तो संवेदनशील विषयमा परराष्ट्रमन्त्रीले नभई स्वयं प्रधानमन्त्री संसद्‌मा उपस्थित भएर स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो। उहाँले सीमा क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपप्रति समेत सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

यस्तै, नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि सीमा विवाद जस्तो गम्भीर विषयमा विभागीय मन्त्रीहरूलाई अघि सार्नुको सट्टा प्रधानमन्त्री आफैँले संसद्‌मा आएर स्पष्टीकरण दिनुपर्ने माग गर्नुभयो।

नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले नेपाल आफैँले छिमेकीको जमिन मिचेको भनी प्रधानमन्त्री तहबाट आउनु राष्ट्रघाती भएको जिकिर गर्दै उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति तत्काल संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने धारणा राख्दै सभामुखले उक्त विवादित अंश संसद्को रेकर्डबाट हटाउन अविलम्ब रुलिङ गर्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले देशको भौगोलिक अखण्डता र सीमाको रक्षा गर्ने प्रमुख दायित्व बोकेको सरकारका जिम्मेवार पदाधिकारीहरूबाटै हलुका र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु निन्दनीय भएको बताउनुभयो। सीमा व्यवस्थापन र राष्ट्रिय स्वाधीनताप्रति सरकार संवेदनशील बन्नुपर्ने उहाँको माग थियो।