बालबालिकाको चित्रकलामार्फत विश्वशान्तिको सन्देश फैलाइने
बाल सिर्जना र विश्वशान्ति
काठमाडौँ, असोज २६ । बालबालिकाको सिर्जनामार्फत विश्वशान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले पाटन सङ्ग्रहालयको भण्डारखाल बगैँचामा कला कार्यशाला तथा शान्ति दूत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा आयोजित कार्यक्रममा योङ पिकासो संस्थाका निर्देशक एवं नेपालका लागि शान्ति दूत अजय देसारले बालबालिकाले तयार पारेका चित्र विश्वका १५५ देशमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले बालबालिकाको कलामार्फत शान्ति, सद्भाव र आपसी समझदारीको सन्देश विश्वभर फैलाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालस्थित इटालीकी अवैतनिक महावाणिज्यदूत प्रतिमा पाँडे, कलर्स फर पिसकी प्रतिनिधि एड्रिना ग्रिस्पा, पाटन सङ्ग्रहालयका प्रवक्ता सुरेशमान लाखे, ‘कलर्स फर पिस नेपाल’ का अध्यक्ष एन्टोनियो जियानेली र महासचिव मारियो गालोलगायतले नेपाल र इटालीबीचको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
त्यस अवसरमा ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशी र काठमाडौं भ्याली हेरिटेज प्लसका अध्यक्ष राजु रोक्काले पनि दुई देशबीचको सांस्कृतिक सम्बन्ध, सहकार्य र आपसी मित्रताबारे धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल र इटालीबीच विगत ६६ वर्षदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै कला र संस्कृतिका माध्यमबाट विश्वशान्ति प्रवर्द्धन गर्न सकिने विषयमा जोड दिइएको थियो ।
