मौसममा दोहोरो प्रभाव: पूर्वी र मध्य क्षेत्रमा भारी वर्षा, पश्चिम तराईमा तापक्रम ४१ डिग्री नाघ्यो

काठमाडौँ, ४ असार । नेपालको पूर्वी र मध्य पहाडी क्षेत्रमा भारी वर्षा भइरहँदा पश्चिम तथा मध्य तराईमा भने अत्यधिक गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा भारी वर्षा मापन गरिएको छ भने तराईका जिल्लाहरूमा तापक्रम बढेर जनजीवन प्रभावित बनेको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखामा ७१.८ मिलिमिटर, झापामा ७१.२ मिलिमिटर, मोरङमा ६१.८ मिलिमिटर र सुनसरीमा ५१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यसअघि झापामा १०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार देशका पूर्वी र पहाडी जिल्लामा वर्षा भइरहे पनि तराईका सुक्खा क्षेत्रहरूमा तापक्रम तीव्र गतिमा बढिरहेको छ। पछिल्लो रेकर्ड अनुसार भैरहवामा सबैभन्दा बढी ४१.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै नेपालगञ्जमा ४०.४ डिग्री, धनगढीमा ३८.८ डिग्री र काठमाडौँमा तापक्रम बढेर ३१.३ डिग्री सेल्सियस पुगेको छ। आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा अत्यधिक तातो दिन (हिट वेभ) हुने सम्भावना रहेको छ।

हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। विभागले जारी गरेको बुलेटिन अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा भने तातो हावा (लूँ) चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *