तनहुँ जलविद्युत् आयोजनाद्वारा ७ सामाजिक योजना निर्माणाधीन

तनहुँ, ६ असार । १ सय ४० मेगावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले आफ्नो प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कामलाई तीव्रता दिएको छ । आयोजनामार्फत हाल विभिन्न ७ वटा सामुदायिक विकासका योजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाले विद्युत् उत्पादनको पूर्वाधारसँगै स्थानीय समुदायको जीवनस्तर सुधारका लागि सडक, खानेपानी, पुल र विद्यालय भवन निर्माणमा लगानी गरिरहेको छ ।

आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत हाल निम्न योजनाहरूमा काम भइरहेको छ: ऋषिङ गाउँपालिका–७ मा माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक र डाडीवन चुलेसी पहुँच मार्ग, भिमाद नगरपालिका–५ स्थित फेदीखोला र वानटाङ खोलामा पक्की पुल निर्माण,
सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवा जोड्ने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति र जडान, ऋषिङ–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण र म्याग्दे–५ फूलबारीमा सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य भइरहेका छन् ।

आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म ९६ वटा साना-ठूला योजनाहरू सम्पन्न गरिसकेको छ । पछिल्लो पटक गत वैशाख महिनामा मात्रै दुई वटा योजनाहरू पूर्ण भएका छन् । जसमा म्याग्दे–३ को किल्चोक शाखा सडकको नाला निर्माण र ऋषिङ–१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना रहेका छन् ।

आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “आयोजना निर्माणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसैले हामीले उनीहरूको आवश्यकतालाई ध्यानमा राखेर सामुदायिक विकास र जीविकोपार्जन पुनस्र्थापनका कार्यक्रमलाई प्राथमिकता दिएका हौँ ।” यी योजनाहरूको नियमित अनुगमन वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको प्राविधिक अवस्था अनुसार तनहुँको ऋषिङ–१ झापुटारमा निर्माणाधीन यस आयोजनाको काम तीनवटा प्याकेजमा भइरहेको छ ।प्याकेज १ अन्तर्गत बाँध लगायतका मुख्य संरचना (हेडवक्र्स) निर्माण, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत् गृह र उपकरण जडान, प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण ।