औसत समयभन्दा छ दिन ढिलो मनसुन प्रवेश, चार प्रदेशमा फैलियो : सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ८ असार । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आज सोमबार थप चारवटा प्रदेशहरूमा विस्तार भएको हो।

महाशाखाले जारी गरेको मनसुनसम्बन्धी बुलेटिन अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि, मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले सुदूरपश्चिम र कर्णाली लगायत देशका बाँकी पश्चिमी क्षेत्रहरूमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यस वर्ष जुन १९ (असार ५) मा मात्र भित्रिएको थियो।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिभर नेपालमा सरदरभन्दा कम वर्षा हुने र औसत तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

विशेष गरी कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै सर्वसाधारणलाई नियमित मौसम बुलेटिन हेर्न र आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।