१९८ जना ज्येष्ठ नागरिक सम्मानित
काठमाडौँ, असार ८ । काठमाडौँ महानगरपालिका वडा नं. ३० ले आफ्नो क्षेत्रभित्रका १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकहरूलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरूले आफ्नो सक्रिय जीवनमा समाजका लागि पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १०६ जना महिला र ९२ जना पुरुष गरी कूल १९८ जना ज्येष्ठ नागरिकहरूलाई सम्मानित गरिएको थियो। सम्मानित हुनेहरूमध्ये सबैभन्दा पाको उमेरकी ९४ वर्षीया लक्ष्मी कपाली हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई पुस्तान्तरण गर्ने संस्कृतिको विकास गर्न वडाले यो पहल सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “वर्तमान समयमा ज्येष्ठ नागरिकहरू परिवार र समाजमा एक्लो हुँदै जानुभएको महसुस भएको छ । उहाँहरू एक्लो हुनुहुन्न र उहाँहरूको बारेमा सोच्ने स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउन हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।” ज्येष्ठ नागरिक समाजका जीवित इतिहास र धरातल भएको उल्लेख गर्दै उहाँले उहाँहरूको योगदानलाई सजीव राख्न वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं सम्मानित व्यक्तित्व प्रा. डा. तिमिल्सिनाले वडाको यस कार्यको प्रशंसा गर्दै नागरिकले सरकारलाई प्रत्यक्ष महसुस गर्न पाउनु नै वास्तविक विकास भएको धारणा राख्नुभयो। उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई घरबाहिर निस्कन र सामाजिक घुलमिल हुन थप हौसला मिल्ने बताउनुभयो ।
वडा सचिव देवराज जोशीका अनुसार, वडाले ज्येष्ठ नागरिकहरूको सम्मान र सत्कारलाई आगामी दिनमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ । समाजका अग्रजहरूको सम्मान गर्दा नयाँ पुस्तामा पनि सकारात्मक सन्देश प्रवाह हुने विश्वास वडा कार्यालयले लिएको छ ।