काठमाडौँ महानगरमा विद्यालयस्तरीय ‘उपमेयर कप खोखो’ सुरु
काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि पहिलो पटक विद्यालयस्तरीय ‘प्रथम उपमेयर कप खोखो प्रतियोगिता’ सुरु हुँदैछ । महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल खोखो सङ्घको प्राविधिक समन्वयमा सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच यो प्रतियोगिता हुन लागेको हो।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार शिक्षा र खेलकुदलाई सँगसँगै लैजाने महानगरको योजनाअनुरूप यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ र नेपाल खोखो सङ्घले ६ लाख रुपैयाँ गरी कुल ३६ लाख रुपैयाँ बजेट खर्च हुने जानकारी दिइएको छ।
कीर्तिपुरमा सञ्चालन हुने यस प्रतियोगितामा सामुदायिक विद्यालयका कक्षा १० सम्मका छात्र र छात्रा दुवै समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउटका आधारमा सञ्चालन हुने खेलका लागि ३० जनाको निर्णायक मण्डल खटाइएको सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुनेले २५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितामा महानगरभित्रका १० वटा सामुदायिक विद्यालयहरूले भाग लिएका छन्। जसमा शान्ति निकुञ्ज मावि, महाँकाल मावि, भीमसेनगोला मावि, पद्मकन्या मावि, जनप्रभात मावि, सहिद शुक्र मावि, विश्वनिकेतन मावि, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मावि र कन्या मन्दिर माध्यमिक विद्यालय रहेका छन्।
सङ्घका महासचिव शङ्कर महर्जनले नेपालले खोखो खेलमा अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य सफलता हासिल गरिरहेको बताउनुभयो। नेपालले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य र रजत पदक जितेको थियो। त्यस्तै, सन् २०२३ मा भारतको गुवाहाटीमा भएको चौथो एसियाली खोखो च्याम्पियनसिपमा नेपाली महिला र पुरुष दुवै टोलीले रजत पदक प्राप्त गरेका थिए।
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिताले खोखो खेलको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।