जुम्लाको गुठीचौरका अध्यक्ष दानबहादुर बुढासहित तीन जनप्रतिनिधि पदमुक्त
जुम्ला, ९ असार । नेपाली कांग्रेसबाट निर्वाचित भई हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएका जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन् । दल त्याग गरेका कारण निर्वाचन आयोगले मङ्गलवार एक सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष बुढासहित अन्य स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो।
निर्वाचन आयोगको सूचना अनुसार अध्यक्ष बुढासँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन् । उपाध्यक्ष अन्सारी र वडाध्यक्ष ढकाल पनि नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन्।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को कानुनी प्रावधान बमोजिम उनीहरूलाई पदमुक्त गरिएको स्पष्ट पारेको छ। ऐनअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराएपछि आयोगले पद रिक्त भएको सूचना प्रकाशन गर्ने कानुनी व्यवस्था छ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई विजयी भएका थिए ।