काठमाडौँ महानगरको कक्षा ११ र १२ छात्रवृत्ति : अन्तिम चरणमा ५८६ विद्यार्थी मनोनित, १ हजार सिट अझै रिक्त

काठमाडौँ,  असार ९ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति अन्तर्गत अन्तिम चरणको मनोनयन (र्‍यापअप) सूची सार्वजनिक गरेको छ । प्राप्त ३ हजार २९७ आवेदनमध्ये ५८६ जना विद्यार्थीलाई अन्तिम मनोनयनका लागि छनोट गरिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार मनोनयनमा परेका ५८६ विद्यार्थीमध्ये विज्ञान विषयमा २८२, व्यवस्थापनमा २७३, कानुनमा २३, मानविकीमा ६ र शिक्षा विषयमा २ जना रहेका छन् । मनोनयनमा परेका विद्यार्थीहरूले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

१ हजार कोटा अझै रिक्त
विद्यार्थीहरूले आवेदनका क्रममा विषय र शिक्षण संस्थाको प्राथमिकता सही ढंगले छनोट नगर्दा अझै पनि १ हजार छात्रवृत्ति कोटा खाली रहेको छ। परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले भन्नुभयो, “विद्यार्थीको आवश्यकता र रिक्त अवस्थालाई हेरी खाली कोटामा भर्नाका लागि थप सिफारिस गर्न सकिनेछ ।”

शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो सूचीमा नपरेका विद्यार्थीहरूलाई असार ४ देखि ८ गतेसम्म प्राथमिकता क्रम छनोट गर्ने अवसर दिइएको थियो। यस अवधिमा आवेदन दिने ३ हजार २९७ विद्यार्थीमध्ये १ हजार १४२ छात्रा, २ हजार १५४ छात्र र १ जना अन्य रहेका थिए । आवेदन दिनेमा सबैभन्दा बढी विज्ञान विषयका लागि २ हजार ९१८ जना थिए ।

यस वर्ष महानगरपालिका भित्रका १४५ शिक्षण संस्थामा कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो । जसमध्ये पहिलो सूचीबाट   ३ हजार ७३५ विद्यार्थीमध्ये ३ हजार ५१ जनाले भर्ना गरे । दोस्रो सूचीबाट  ४८६ विद्यार्थी सिफारिस भएकोमा २३० जनाले भर्ना गरे ।अन्तिम (र्‍याप-अप) सूचीमा ५८६ जना मनोनित भएका छन् ।

यसअघि जेठ १७ गते लिइएको छात्रवृत्ति परीक्षाको नतिजा जेठ २१ गते प्रकाशित भएको थियो । नतिजामा चित्त नबुझेका ३३१ जना परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकोमा ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर र म्यानुअल दुवै विधिबाट पुनः परीक्षण गरी नतिजा सुनिश्चित गरिएको शिक्षा विभागले जनाएको छ ।