अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालय तीन दिनका लागि बन्द

काठमाडौँ, असार ९ । अत्यधिक गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी तीन दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै असार १०, ११ र १२ गते नगरभित्रका सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन स्थगित गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीका अनुसार, जल तथा मौसम विज्ञान विभागको सुझाव र विद्यार्थीहरूमा देखिएका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । गर्मीका कारण विद्यार्थीहरू बेहोस हुने, टाउको दुख्ने जस्ता लक्षणहरू देखिएकाले विद्यालय आवतजावतमा समेत कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिका भित्र ८२ वटा संस्थागत, ४२ वटा सामुदायिक र ३९ वटा धार्मिक विद्यालय गरी कुल १६३ विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमा तीन दिनसम्म पठनपाठन बन्द रहनेछ ।

जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार यस क्षेत्रमा गर्मीको प्रभाव निकै बढेको छ । सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीका अनुसार नेपालगन्जमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने खजुरामा ३९.६ र कोहलपुरमा ३९ डिग्री सेल्सियस पुगेको छ ।

बढ्दो तापक्रम र लूका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि उपमहानगरले यसअघि पनि विद्यालय बन्द गरेको थियो ।