रास्वपा केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी, आज नामावली प्रकाशन गरिँदै

काठमाडौँ, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको साङ्गठनिक प्रक्रियाअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएको हो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, मनोनयन दर्ता प्रक्रिया राति अबेरसम्म चलेकाले उम्मेद्वारहरूको यकिन सङ्ख्या सङ्कलन गर्ने र प्रथम चरणको नामावली तयार पार्ने काम भइरहेको छ । ‘उम्मेद्वारी दर्ता गर्नेको सङ्ख्या चार सय नाघेको छ’, प्रमुख केसीले भन्नुभयो, ‘हामी तथ्याङ्क प्रशोधन गर्दैछौँ, आज बिहान ९ बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ ।’

निर्वाचन कार्यतालिका अनुसार, पहिलो चरणमा निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाटै दोस्रो चरणमा पार्टीका पदाधिकारीहरूको चयन गरिने वैधानिक व्यवस्था रहेको छ ।

निर्वाचनलाई प्रविधिमैत्री र पारदर्शी बनाउन विद्युतीय मतदान उपकरणको प्रयोग गरिने जनाइएको छ । साथै, प्रवासमा रहेका पार्टी प्रतिनिधिहरूका लागि मोबाइल एपमार्फत मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको छ । यस निर्वाचनमा देशभरबाट आएका करिब चार हजार प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।