६० प्रतिशत विदेशी पर्यटकद्वारा नेपालका संरक्षित क्षेत्रको भ्रमण
काठमाडौँ, १० असार । नेपाल भित्रिने कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले देशका विभिन्न संरक्षित क्षेत्रहरू (राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र) को भ्रमण गर्ने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका छन्।
विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये सार्क मुलुक र अन्य विदेशीहरूको सङ्ख्या ५ लाख ११ हजार ७६२ रहेको छ भने नेपाली आन्तरिक पर्यटकहरूको सङ्ख्या ५ लाख ८६ हजार ७४ जना छ। पर्यटक प्रवेश शुल्कबापत विभागले आर्थिक वर्ष २०८१/८२ मा मात्र कुल १ अर्ब ५२ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यस अवधिमा सबैभन्दा बढी काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ३ लाख ४६ हजार ६४४ जना पर्यटकले भ्रमण गरेका छन्। यसैगरी, दोस्रो स्थानमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रमा २ लाख ७८ हजार ११३ जना र तेस्रो स्थानमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ४९ हजार ९५६ जना पर्यटकले भ्रमण गरेका छन्। सबैभन्दा कम दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रमा केवल २२९ जना पर्यटकले मात्र भ्रमण गरेको विभागको तथ्याङ्कमा उल्लेख छ।
हाल नेपालमा चितवन, बर्दिया, लामटाङ, रारा, बाँके, सगरमाथा, शे–फोक्सुन्डो, शिवपुरी नागार्जुन, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, पर्सा र छायाँनाथ गरी १३ वटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्।
यसैगरी कृष्णसार, अपिनाम्पा, कञ्चनजङ्घा, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण गरी ६ वटा संरक्षण क्षेत्रका साथै ढोरपाटन सिकार आरक्ष र कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चालनमा छन्। यी संरक्षित क्षेत्रहरूले नेपालको कुल भू-भागको २३ दशमलव ३९ प्रतिशत हिस्सा ओगटेका छन्।