मौन महामारीको चपेटामा सहर : भिडमा पनि एक्लो छ मान्छे
काठमाडौँ, असार ११ । सहरको कोलाहल, गगनचुम्बी भवन र सडकमा मानिसहरूको बाक्लो भिड । बाहिरबाट हेर्दा चलायमान देखिने यो सहरभित्र एउटा अर्कै यथार्थ लुकेको छ, भिडभित्रका हरेक मानिस एक्ला छन् । यो कुनै साहित्यिक परिकल्पना नभई काठमाडौँ महानगरपालिकाले हालै सञ्चालन गरेको ‘मनोसामाजिक स्वास्थ्य शिविर’ बाट निस्किएको गम्भीर निष्कर्ष हो ।
महानगरपालिकाको स्वास्थ्य विभागले ‘ह्याप्पी माइण्डस’ सँगको सहकार्यमा जेठ ३० देखि असार ८ गतेसम्म नगरका ९ विभिन्न स्थानमा शिविर सञ्चालन गरेको थियो । स्वयम्भू, कमलपोखरी, बौद्ध, हाँडीगाउँ लगायतका क्षेत्रमा गरिएको यस अध्ययन र परामर्शले सहरिया जीवनशैलीभित्र गुम्सिएर रहेको ‘मानसिक स्वास्थ्य’ को भयावह तस्बिर सार्वजनिक गरेको छ ।
तथ्याङ्कमा मानसिक अवस्था
शिविरमा १० देखि ८४ वर्ष उमेर समूहका व्यक्तिहरूले परामर्श लिएका थिए । सहभागी १,०१५ जनामध्ये ५५५ महिला, ४०५ पुरुष र ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक थिए । तथ्याङ्क अनुसार सबैभन्दा धेरै समस्या १८ देखि ४५ वर्ष उमेर समूहमा देखिएको छ, जसलाई उत्पादनशील जनशक्ति मानिन्छ ।
बाल्यकालमै ‘जीपीए’ को बोझ र डिजिटल लत
१० देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा खेल्ने र रमाउने उमेरमै गहिरो मानसिक दबाब देखिएको छ । परामर्शका क्रममा उनीहरूले पढाइमा कमजोर हुने र परीक्षामा कम ‘जीपीए’ आउँदा अभिभावकबाट पाइने गाली र सजायको डरले निद्रा बिथोलिएको सुनाए ।
प्रविधिप्रतिको अत्यधिक आशक्ति (डिजिटल फिक्सेसन) का कारण उनीहरूमा एकाग्रताको अभाव (Lack of Concentration) देखिएको छ । “कसैले मलाई बुझ्दैनन्” भन्ने भाव र पुराना दुव्र्यवहारका घटनाले कतिपय बालबालिकाहरू ‘आत्महानी’ (Self-harm) को जोखिमपूर्ण सोचसम्म पुगेको पाइएको छ ।
युवा पुस्ता: अनिश्चित भविष्य र सम्बन्धको त्रास
२० देखि २९ वर्षका युवाहरूमा करियर र भविष्यको चिन्ता प्रमुख समस्याका रूपमा देखिएको छ । सहरको महँगो जीवनशैलीमा समायोजन हुन नसक्नु र प्रविधिको प्रतिस्पर्धामा पछि परिने डरले उनीहरूमा ‘सामाजिक एन्जाइटी’ बढाएको छ । साथै, वैवाहिक सम्बन्ध जोडिएकाहरूमा सम्बन्ध टुट्ने डर र नजोडिएकाहरूमा उपयुक्त जीवनसाथी नपाइने त्रासले उनीहरूलाई मानसिक रूपमा थकित बनाएको छ ।
अभिभावक: रित्तो गुँड र आर्थिक दबाब
३० देखि ५९ वर्षका वयस्कहरू भने ‘दोहोरो चेपुवा’ मा छन् । सन्तानहरू उच्च शिक्षा वा रोजगारीका लागि विदेश पलायन हुँदा सिर्जना भएको ‘रित्तो गुँड’ (Empty Nest Syndrome) ले अभिभावकहरूमा एक्लोपन र मानसिक तनाव बढाएको छ ।
पर्याप्त आय नहुनु तर पारिवारिक अपेक्षा बढ्नुले मध्यम वर्गका पुरुषहरू तनावमा छन् भने महिलाहरू परिवारमा कलह नहोस् भनेर आफ्ना आवेग दबाउँदा झन् ठुलो मानसिक जोखिममा परेका छन् । मध्यम उमेरका महिलामा ‘मेनोपज’ (महिनावारी सुक्ने) अवस्थाले ल्याउने शारीरिक परिवर्तन र अनिद्राले उच्च रक्तचाप तथा थाइरोइड जस्ता समस्या समेत थपेको छ ।
ज्येष्ठ नागरिक : परित्याग गरिएको महसुस
६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूमा भने ‘अन्तरपुस्ता खाडल’ (Generation Gap) को पीडा गहिरो छ । आधुनिक सहरको व्यस्ततामा आफ्नै भाषा बोल्ने र भावना बुझिदिने कोही नहुँदा उनीहरूले आफूलाई समाजबाट ‘परित्याग गरिएको’ महसुस गरिरहेका छन् । “जीउ दुख्छ तर उपचार गराइदिने कोही छैन, मन दुख्छ तर सुनिदिने कोही छैन,” यो शिविरमा आएका धेरै ज्येष्ठ नागरिकको साझा गुनासो थियो ।
नीतिगत हस्तक्षेपको आवश्यकता
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनका अनुसार, सहरमा मानसिक स्वास्थ्य अब ‘मौन महामारी’ का रूपमा फैलिरहेको छ । “शरीरमा लागेको रोग जस्तै मनमा लागेको रोगको पनि उपचार जरुरी छ,” महर्जन भन्नुहुन्छ, “शिविरबाट प्राप्त तथ्याङ्कले महानगरलाई आगामी स्वास्थ्य नीति तर्जुमा गर्न ठुलो सहयोग पुगेको छ ।”
महानगरले अब विद्यालयहरूमा परामर्शदाताको व्यवस्था, अभिभावक सचेतना र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमहरूलाई प्राथमिकता दिने सङ्केत गरेको छ ।
भीडभाडयुक्त सहरभित्र हरेक मानिसले भोगिरहेको यो ‘एक्लोपन’ लाई सम्बोधन नगर्ने हो भने, सहरको भौतिक विकासले मात्र यहाँका बासिन्दाको खुसी सुनिश्चित गर्न सक्ने देखिँदैन । समयमै चेतना र उपचारको पहुँच विस्तार गर्नु नै यस ‘मौन महामारी’ बाट बच्ने एक मात्र विकल्प हो ।