भोजपुरमा सडक अनुगमनमा पुगेका प्राविधिकमाथि कामदारको निर्घात कुटपिट: ६ जना प्रहरी नियन्त्रणमा

भोजपुर, १६ असार । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बासीखोरा–बालङ्खा–रानीटार सडकको स्थलगत अनुगमनका लागि कार्यक्षेत्रमा पुगेका एक प्राविधिकमाथि कामदारको समूहले कुटपिट गरेको छ। रामप्रसाद राई गाउँपालिकामा सडकको वस्तुस्थिति बुझ्न पुगेका प्राविधिक आनन्दकुमार शाहमाथि सोही सडकमा कार्यरत कामदारहरूले आक्रमण गरेका हुन्।

कुटपिटबाट गम्भीर घाइते भएका शाहको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई जिल्लामा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। शाहको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जना कामदारलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार पक्राउ पर्नेहरूमा प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटी रहेका छन्।

“हामीले ६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ,” डीएसपी लामाले भने, “दुवै पक्षको बयान लिएपछि घटनाको यथार्थ खुल्नेछ र दोषी देखिए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ।”

पूर्वाधार विकास कार्यालय भोजपुरले कार्यक्षेत्रमा खटिएका कर्मचारीमाथि भएको यस आक्रमणले प्राविधिकहरूको सुरक्षामा ठूलो चुनौती थपिएको जनाएको छ। कार्यालयले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलमा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न माग गरेको छ।

अनुगमनका क्रममा कामको गुणस्तर वा अन्य कुनै प्राविधिक विषयमा विवाद हुँदा कामदारहरूले आवेगमा आएर कुटपिट गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।