महान्यायाधिवक्ता डा. कँडेलको बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ, असार १६ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल र बेलायतबीचको आवतजावत सम्बन्धी प्रमाणित अभिलेख पेस गर्न आदेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार कँडेलको महान्यायाधिवक्ता पदमा गरिएको नियुक्ति बदरको माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।
इजलासले महान्यायाधिवक्ता नियुक्ति सम्बन्धी नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन निर्देशन दिएको छ। साथै, सन् २०१५ देखि २०२४ सम्म डा. कँडेल नेपालबाट बेलायत आवतजावत गरेको प्रमाणित विवरण अध्यागमन विभागबाट प्राप्त गरी नियमअनुसार पेस गर्न समेत आदेशमा उल्लेख छ।
अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले डा. कँडेलको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उक्त नियुक्ति बदरको मागसहित सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए। सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले आवश्यक प्रमाण र अभिलेखहरू माग गर्ने निर्णय गरेको हो।