काठमाडौँ महानगरद्वारा ३६० शिक्षकलाई निर्माणात्मक मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी तालिम प्रदान

काठमाडौँ, जेठ १६ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ४ र ५ मा अध्यापन गराउने ३६० जना शिक्षक-शिक्षिकालाई दुई दिने विशेष तालिम प्रदान गरेको छ । ‘निर्माणात्मक मूल्याङ्कन अवधारणा तथा नतिजा अभिलेखन’ सम्बन्धी उक्त तालिम दुई चरणमा सञ्चालन गरिएको थियो, जसमा प्रत्येक चरणमा १८० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

महानगरपालिकाले ‘आधारभूत तह कक्षा ४-५ विद्यार्थी मूल्याङ्कन कार्यविधि २०८३’ बमोजिम विद्यार्थीहरूको नियमित र प्रभावकारी मूल्याङ्कन सुनिश्चित गर्न यो तालिम आयोजना गरेको हो । यस विधि अन्तर्गत विद्यार्थीहरूको नतिजा आवधिक परीक्षाका आधारमा मात्र नभई कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगात्मक अभ्यास, व्यवहार अवलोकन, स्व-मूल्याङ्कन र अभिभावकको प्रतिक्रिया जस्ता बहुआयामिक आधारमा अभिलेखन गरिनेछ ।

सरकारले जारी गरेको ‘शासकीय सुधार सम्बन्धी कार्ययोजना’ को बुँदा नं. ८९ मा उल्लेखित निर्माणात्मक मूल्याङ्कन कार्यान्वयन सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको महानगरले जनाएको छ ।

तालिम समापनका अवसरमा शिक्षा अधिकृत केशव ज्ञवालीले तालिमले शिक्षकहरूमा आत्मविश्वास बढाएको उल्लेख गर्दै कक्षा कोठामा यसको कार्यान्वयन पक्षलाई नियमित अनुगमन गरिने बताउनुभयो । तालिममा पाठ्यक्रमको संरचना, विषयगत विशेषता, नवीनतम शिक्षण विधि, विद्यार्थी मूल्याङ्कनका साधनहरूको प्रयोग, जीपीए (GPA) गणना र प्रगति प्रतिवेदन तयारी जस्ता प्राविधिक विषयहरू समावेश गरिएका थिए ।

तालिम सहजकर्ता सीता पाण्डेका अनुसार यस पद्धतिले शिक्षकहरूमा मूल्याङ्कन प्रक्रियाप्रति तत्परता र दक्षता अभिवृद्धि गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै कुल १ हजार ६४६ जना शिक्षकलाई विभिन्न विधामा प्रशिक्षित गरिसकेको छ । जसमा बाल विकास सहजकर्ता, मनोवैज्ञानिक परामर्श, नेपाल भाषा प्रशिक्षण, सूचना प्रविधि, र एकीकृत पाठ्यक्रम कार्यान्वयन जस्ता विषयहरू समेटिएका छन् । आगामी असार महिनामा थप १८० जना शिक्षकलाई सोही प्रकृतिको तालिम दिने योजना रहेको महानगरले जानकारी दिएको छ ।

शिक्षकहरूको क्षमता विकास गरी सिकेको ज्ञान र सीपलाई कक्षा कोठामा व्यवहारिक रूपमा उतार्न प्रोत्साहन गर्दा सामुदायिक विद्यालयको शैक्षिक नतिजामा सकारात्मक सुधार आउने अपेक्षा महानगरपालिकाले लिएको छ ।