विश्वकपमा ‘डेभिड भर्सेस गोलियाथ’को भिडन्त: केप भर्डे र अर्जेन्टिना आमने-सामने
मियामी, अमेरिका । फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा एउटा यस्तो भिडन्त हुँदैछ, जसलाई खेल जगतले ‘डेभिड भर्सेस गोलियाथ’ (सानो र शक्तिशाली बीचको लडाइँ) को संज्ञा दिएको छ। मात्र ५ लाख जनसंख्या भएको एउटा सानो टापु राष्ट्र केप भर्डेले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणमा पुगेर विश्वलाई स्तब्ध बनाइदिएको छ। अब यो टोलीले शुक्रबार मियामीमा साविक विजेता अर्जेन्टिनाको सामना गर्दैछ।
ऐतिहासिक यात्रा: कसरी पुग्यो केप भर्डे अन्तिम ३२ मा?
विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डे नकआउट पुग्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ। समूह चरणको कठिन चुनौती पार गर्ने क्रममा उसले उपाधि दाबेदार स्पेन, पूर्व विजेता उरुग्वे र साउदी अरब जस्ता बलिया टोलीहरूलाई बराबरीमा रोक्दै ३ अंक जोड्न सफल भयो। यही प्रदर्शनका साथ केप भर्डे आफ्नो समूहमा दोस्रो हुँदै अन्तिम ३२ मा प्रवेश गरेको हो।
प्रवासी खेलाडीको साथ र रणनीतिक सफलता
अटलान्टिक महासागरको १० वटा टापुहरूको समूह रहेको केप भर्डेको यो सफलता संयोग मात्र होइन। यसको पछाडि विदेशमा रहेका आफ्ना प्रतिभाशाली प्रवासी खेलाडीहरूलाई राष्ट्रिय टोलीमा समेट्ने विशेष रणनीति रहेको छ। साउदी अरब विरुद्धको खेलमा मैदान उत्रिएका सुरुवाती ११ खेलाडीमध्ये ६ जना देश बाहिर जन्मिएका थिए। जसमा नेदरल्याण्ड्स, आयरल्याण्ड, फ्रान्स र पोर्चुगलमा जन्मिएका खेलाडीहरू सामेल छन्।
रातारात ‘सेलिब्रेटी’ बनेका ४० वर्षीय गोलकिपर
केप भर्डेको यो सपना जस्तै यात्राका वास्तविक नायक ४० वर्षीय गोलकिपर भोजिन्हा (Vozinha) हुन्। उनले समूह चरणका तीन खेलमध्ये दुई खेलमा आफ्नो पोस्ट सुरक्षित (Clean Sheet) राखेका थिए। स्पेन विरुद्धको खेलमा सातवटा उत्कृष्ट बचाउ गर्दै उनले युवा स्टार लामिन यामल र अन्य स्पेनिस खेलाडीलाई गोल गर्नबाट रोकेका थिए।
यही प्रदर्शनका कारण उनी सामाजिक सञ्जालमा रातारात सनसनी बनेका छन्। गत बुधबारसम्म उनको इन्स्टाग्राम फलोअर्स ५ लाखबाट बढेर १७.४ मिलियन पुगेको छ, जुन एनएफएल (NFL) लिजेन्ड टम बार्डी र बास्केटबल स्टार भिक्टर वेम्बान्यामाको भन्दा पनि बढी हो।