ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं, २७ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
ओमानको अल अमेरतस्थित अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको टसमा नेपालले बाजी मारेपछि ओमानले पहिला फिल्डिङ गर्ने भएको छ।
जारी शृङ्खलामा नेपाल र ओमान दुवै दोस्रो जितको खोजीमा छन्। असोज २६ गते भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो।
ओमानले क्यानडालाई पराजित गरेपछि लिग–२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालको ध्यान एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेतर्फ केन्द्रित छ।
लिग–२ को अङ्कतालिकामा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित छैटौँ स्थानमा छ। क्यानडा ३४ खेलबाट २५ अङ्क जोड्दै सातौँ स्थानमा झरेको छ। यता २९ खेल खेलेको ओमान ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ।
