सरकारको सय दिन लोकतान्त्रिक मूल्य र कानुनी राज्यका दृष्टिले असफल: एमाले सांसद बराल

काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको सय दिनको कार्यकाल लोकतान्त्रिक मूल्य मान्यता, कानुनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख भएको दाबी गरे।

सांसद बरालले संविधान संशोधनको विषयमा सत्तापक्षबाटै परस्पर विरोधी अभिव्यक्तिहरू सार्वजनिक हुनु र प्रधानमन्त्री कार्यालयबाट एकलौटी रूपमा प्रक्रिया अघि बढाउनु आपत्तिजनक रहेको बताए। प्रतिनिधि सभा नियमावली जबरजस्ती पारित गरिएको उल्लेख गर्दै उनले यसले संसदीय गरिमा र कानुनी राज्यको मर्यादा मिचेको तर्क गरे। संसद्ले विशेष कानुन बनाएर फौजदारी कानुनभन्दा माथि रहने गरी गरिएका घोषणाहरूले संसद्कै विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले सरकारमा रहेका कतिपय मन्त्रीहरूको आचरण र कार्यशैलीमाथि प्रश्न उठ्दा पनि आफैँ अनुसन्धानकर्ता र आफैँ निर्णयक (आफैँ बोक्सी र आफैँ धामी) बन्ने प्रवृत्ति हाबी भएको टिप्पणी गरे। वर्तमान सरकारले संविधानप्रदत्त मौलिक हक र विभिन्न संवैधानिक आयोगहरूमाथि निरन्तर हस्तक्षेप गरिरहेको आरोपसमेत उनले लगाए।

यसैगरी, महान्यायाधिवक्ताको कार्यालयले द्वन्द्वकालसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ तत्काल अघि नबढाउन मातहतका कार्यालयहरूलाई दिएको निर्देशनप्रति सांसद बरालले कडा आपत्ति जनाए। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन र राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तताका सवालमा सरकार उदासीन रहेको भन्दै उनले यसबारे संसद्‌मा स्पष्ट जवाफ दिन माग गरे।