ट्राफिक जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको सरकारी सेवा यातायात कार्यालयबाट रोक्का

काठमाडौँ, २५ असार । ट्राफिक नियम उल्लङ्घन गरेबापत तोकिएको जरिवाना रकम लामो समयसम्म राज्यकोषमा बुझाउन आनाकानी गर्ने २ लाख ६१ हजारभन्दा बढी सवारीचालकको सेवा रोक्का गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात व्यवस्था कार्यालयले ती चालकहरूलाई प्रदान गरिने सरकारी सेवाहरूमा रोक लगाएको हो।

यस कदमसँगै जरिवाना नतिरेका चालकहरूले नयाँ सवारीसाधन खरिद, नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट प्राप्त हुने अन्य कुनै पनि प्रशासनिक सेवा लिन पाउने छैनन्। जरिवानाबापतको बक्यौता रकम पूर्ण रूपमा चुक्ता गरेपछि मात्र यातायात कार्यालयबाट रोक्का गरिएका सेवाहरू पुनः सुचारु हुने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार लामो समयसम्म जरिवाना दाखिला नगर्ने चालकहरूको विवरण सङ्कलन गरी सेवा अवरुद्ध गर्न यातायात कार्यालयहरूमा सूची पठाइएको थियो। सोही आधारमा यातायात कार्यालयहरूले रोक्का प्रक्रिया अघि बढाएका हुन्। जरिवाना तिर्न बाँकी रहेका चालकहरूलाई जानकारी गराउन मोबाइलमा छोटो सन्देश (एसएमएस) पठाउने कार्यसमेत सुरु गरिएको एसपी सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीले जरिवाना छल्ने र नियम उल्लङ्घन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था कठोरताका साथ लागू गरिएको जनाएको छ। यसले सडक अनुशासन कायम राख्न, ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास गर्न र राज्यको राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। उपत्यका ट्राफिक प्रहरीले सम्पूर्ण चालकहरूलाई सडक अनुशासनको पूर्ण पालना गर्न र बक्यौता जरिवाना तत्काल चुक्ता गर्न आग्रह गरेको छ।